कोष अभिबृद्धिको कार्यमा जुट्दै रेडक्रस

156

काठमाण्डौं वैशाख २०, नेपाल रेडक्रस सोसाइटी, एशिया प्यासिफिक कोष अभिबृद्धि सँयन्त्र र रेडक्रसको अन्तर्राष्टिय महासँघको आयोजनामा एशिया प्रशान्त क्षेत्रीय कोष अभिबृद्धि वैठक काठमाडौँमा सुरु भएको छ । कार्यक्रममा १८ देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीहरुका कोष अभिबृद्धि समूहका ४६ जना विज्ञहरुले कोष अभिवृद्धिका विभिन्न विषयहरुमा ९ वटा कोष अभिबृद्धि सम्बन्धी कार्यपत्रमा प्रस्तुत गरेका हुन् । मानवीय सहयोगको लागि आय आर्जनको विषयमा एक आपसमा अनुभव साटासाट गर्न तथा सीप अभिबृद्धि गर्न सो वैठकमा विज्ञहरुले एशिया प्रशान्त क्षेत्रमा रेडक्रसले गरिरहेका कामहरुको लागि सहयोग कोषमा थप १ करोड १५ लाख डलर (१५ मिलियन डलर) आवश्यक पर्ने खाँचो औल्याएका छन् । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सँजिव थापाले कार्यक्रम नेपालमा आयोजना भैरहेकोमा खुशी व्यक्त गर्दै विभिन्न मुलुकका रेडक्रसको सहयोग र सहभागितामा नेपालले पहिलोपल्ट यस्तो वैठक आयोजनाले नेपालमात्र होइन अरु मुलुकहरु पनि लाभान्वित हुने बताए । नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाको निरन्तरताको लागि सहयोग कोषको खाँचो हुने बताए । उनले नेपाल भुकम्पीय जोखिममा रहेकोले राहत उद्यार मात्र नभइ पूर्वतयारीका गतिविधिहरुको लागि पनि खर्च आवश्यक पर्ने भएकोले कोष अभिबृद्धिलाई जोड दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट आयोजक समितिका सदस्य दिव्य राज पौडेलले नेपाल रेडक्रसका विभिन्न तहमा कोष अभिबृद्धिको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका अनुभव र सीप प्राप्त गर्न यो वैठक नेपालमा आयोजना गरिएको बताए । उनले वैठक नेपालको मानवीय सेवाको निम्ति निकै फलदायी हुने अपेक्षा गरे । रेडक्रसको एशिया प्रशान्त क्षेत्र कार्यालयका निर्देशक हाभियर कास्टेलिओनले जुनसुकैवेला खाँचो हुनसक्ने मानवीय सहयोगका लागि सहयोग कोषमा साझेदारी वढाउन रेडक्रसको नेतृत्व, सहकर्मी, कोष अभिबृद्धि कार्यकर्ताहरु र सर्वसाधारण सवैले थप कार्य गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा कोरिया, हंङकङ, पाकिस्तान, वंगलादेश, न्यूजिल्याण्ड, अष्ट्रेलिया, भारत लगायत १८ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।