चन्द्रागिरी वडा न ८ मा अक्सिजनसहितको नगरस्तरीय आइसोलेशन

काठमाडौं – चन्द्रागिरी नगरपालिकाकाले नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले जेठ १ गतेबाट आइसोलेशन सञ्चालन गर्ने तयारी गरेको हो । नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गर्न लागिएको हो । चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातातिर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनलाई आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

सुरुमा अक्सिजनसहितको ३० शैय्याबाट एक सय शैय्याको आइसोलेशन सेन्टर बनाउने नगरपालिका सामाजिक विकास समिति तथा क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं वडा नं.८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए । चन्द्रागिरी नगरपालिका वडा नं. ८ वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि अध्यक्ष खड्काले बताए । आइसोलेशन सेन्टर बनउन ढिलाई भएको भन्दै आलोचना भइरहेको समयमा व्यवस्थित र दीर्घकालिन आइसोलेशन सेन्टर बनाउन लागि परेको र जेठ १ गतेबाट सञ्चालनमा आउने नगरपालिकाको दाबी छ ।

मातातिर्थ स्वास्थ्य चौकी परिसरमा नै आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएपछि स्वास्थ्य चौकीलाई वडा कार्यालयमा सारिने भएको छ । मातातिर्थ बौथली चोकमा रहेको सामुदायिक अस्पतालको निर्माणाधीन भवनबाट आइसोलेशन सञ्चालनमा आएपछि नगरका अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष खड्काले जानकारी दिएका छन् । विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) को अस्पतालमा थप उपचारका लागि समन्वय गरियकाे चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले बताए । साथै नगरपालिकाका सबै क्षेत्रका बासिन्दालाई हुने गरी हाल एन्टिजेन परीक्षण भइरहेको र एक हजारको निःशुल्क पीसीआर परीक्षण गर्न लागिएको घिमिरेले जानकारी दिए।

यस्तै, आइसोलेशनका लागि थप पूर्वाधार बनाउँदै जाने चन्द्रागिरी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिएका छन् ।