
अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाल आयल निगमले मासिक ६० करोडको घाटा व्यहोर्नुपरेको नेपाल आयल निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यसँग समायोजन गरिए पनि निरन्तर उकालो लागिरहेको डलरका कारण मासिक ६० करोड लागत भार थपिएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।
पछिल्लो दुई महिनामा डलरको नेपाली विनिमयदर ४ डलर बढेको छ । डलरको विनिमयदरमा एक रुपैयाँ प्रति डलर वृद्धि हुँदा मात्रै पनि मासिक करिव १५ करोड अतिरिक्त भार थपिने निगमले दावी गरेको छ ।
पछिल्लो पटक साउन ३ गते समायोजन गरिएको नयाँ मूल्यअनुसार सबैभन्दा बढी एलपी ग्यासमा १५ दिनमा २०.४१ प्रतिशत घाटा हुने स्थिति रहेको उनले बताए ।
हवाई इन्धनमा अर्धमासिक ११.३५ प्रतिशत निगमलाई मुनाफा हुन्छ । तर आईओसीको नयाँ मूल्य अनुसार डिजेल र एलपी ग्यासमा मात्रै १५ दिनमा झण्डै ५० करोड घाटा हुने प्रवक्ता गोइतले जानकारी दिए ।
अगष्ट १ र १६ तारिखमा भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त पत्रअनुसार १५ दिनमा करिब २५ करोड घाटा व्यहोर्नुपर्ने देखिएको पाल आयल निगमका प्रवक्ता गोइतले बताएका छन् । डलरको भाउ बढेपछि भारतीय आयल कर्पोरेशन ले पनि मूल्य समायोजन गरेर नेपाल आयल निगमलाई पत्र पठाएको हो ।