तेस्रो थानकोट गोल्डकपको उपाधि ‘वि आर ब्रदर्स’लाई

काठमाडौं, ८ चैत । चन्द्रागिरी थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा भएको तेस्रो थानकोट गोलकपको उपाधि ‘वि आर ब्रदर्स’ले जितेको छ । सीएमबी ग्रुप संस्करण अन्तर्गत भएको फाइनल खेलमा तीनथाना युथ क्लबलाई पराजित गर्दै वि आर ब्रदर्सले उपाधिको रक्षा गर्न सफल भएको हो ।




चन्द्रागिरी नगरपालिकामा आयोजना भएको थानकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता वि आर ब्रदर्सले रु. ८० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्सले २–० ले हराउदै थानकोट गोल्ड कपको विजेता बन्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिका भित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै वि आर ब्रदर्स र तीनथाना युथ क्लब फाइनलमा पुग्न सफल भएका थिए । उपविजेता तीनथाना युथ क्लबले ४५ हजार नगद र ट्रफी प्राप्त गरेको छ ।

त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही पाँच÷ पाँच हजार नगद पुरस्कार राशी नगर प्रमुख घनश्याम गिरीले प्रदान गरे । साथै विभिन्न बिधामा गरि करिब २५ हजारसहित खेलाडीहरुलाई सम्मान गरिएको छ ।

तेस्रो संस्करणको फाइनल खेलमा बोल्दै नगर प्रमुख गिरीले चन्द्रागिरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन भइरहेका हुदा खेलकुद र खेलाडीहरूको विकासका लागि नगरबाट उचित कामहरू भइरहेको बताए ।

उनले खेलकुदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगतमा राख्ने हुदा खेलाडीहरूको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको बताए । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता फागुन २७ बाट सुरू भएको थियो ।