दशैँका लागि रातो रङ लगाइएको खसी नकिन्नुस्

चन्द्रागिरि ।

दशैँ र तिहारका लागि भन्दै राजधानी ल्याइएका खसी बोका हतारमा नकिन्न काठमाडौं महानगपालिकाले सर्वसाधारणलाई आव्हान गरेको छ । महानगरपालिकाले आधिकारीक रुपमा राजधानी ल्याइएका खसी बोकाको स्वास्थ्य परिक्षण गरेपछि मात्र खरिद गर्न अनुरोध गरेको हो । परिक्षण पछि खसीबोकाको सिङमा लगाइएको रंगका आधारमा खरिद गर्न समेत जानकारी गराएको छ । महानगरपालिकाले रातो लगाइएको खसीको मासु नखान आग्रह गरेको छ । रातो रङ लगाएको खसीबोका अस्वस्थ हुने भन्दै त्यस्तो आग्रह गरेको हो ।

दशैंमा राजधानी भित्राउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्न लागेको काठमाडौं महानगरपालिकाले सबै जनतालाई स्वस्थ्य खसी बोकाको मात्र मासु खान अनुरोध गरेको हो । कामपाले गत वर्षजस्तै यो वर्ष पनि खसीबोको परीक्षण शुरू गर्ने भएको छ । राजधानीमा खसीबोका भित्रने नाकामा कडा चेकजाँच गरी परीक्षण गरिएको मात्र खसीबोकाको मासु खान अनुरोध गर्दै असोज २ गतेदेखि परीक्षण शुरू गर्ने भएको छ ।

चारवटा अनुगमन समिति बनाएर चार क्षेत्रमा अनुगमन गर्ने तयारी भइरहेको छ । राजधानीको कलंकी, कोटेश्वर, बागबजार र बिजुलीबजारस्थित खसीबोका बिक्री केन्द्रमा खसीबोकाको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको छ । कामपाले खसी–बोका व्यवस्थापन समिति, चार क्षेत्रका व्यापारी, र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरेको छ । खसी–बोका मात्रै नभएर मिष्ठान्न पदार्थ, खाद्यान्न र पेय पदार्थको समेत अनुगमन गरिने जानकारी दिएको छ ।

जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले कामपाको संयोजनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वाथ्य कार्यालय र भेटनरी कार्यालयको संयुक्त कार्यदल बनाएर खसी–बोका परीक्षण गरिने जानकारी दिए । गतवर्षभन्दा यस वर्ष थप व्यवस्थित तरिकाले अनुगमन र खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने तयारी महानगरपालिकाले गरेको छ । गत वर्ष कामपाले राजधानीको विभिन्न चार स्थानमा ४५ हजार खसी–बोकाको स्वास्थ्य परीक्षण गरेको थियो । यो वर्ष ५० हजारभन्दाबढी खसी–बोकाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य लिएको छ ।