
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त र बैतडीकी भागरथी भट्टको बलात्कारमा संलग्नलाई कुनै हालतमा नछाडिने बताएका छन्। बुटवलमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई शनिबार सम्बोधन गर्दै ओलीले कुनै पनि आपराधिक घटनाका दोषीले उम्किन नपाउने दाबी गरेका हुन्।
निर्मला र भागरथी बलात्कार-हत्याका अपराधीहरूलाई पानीमुनि गए पनि छाडिने छैन’, उनले भने, ‘यी घटनाका दोषीलाई उम्किन दिइने छैन। दुईदिन चार दिन भाग्लान्, दुई दिन चार दिन उम्केलान्। एक वर्ष लुकेर बस्लान्। यसरी भागेर सजाय घट्ने वा कट्टा हुनेवाला छैन’, उनले भने, ‘अपराधीलाई पूरा सजाय हुनेछ। निर्मला-भागरथी हत्याका अपराधीलाई अदालतको कठघरामा उभ्याएर सजाय दिनेछौँ।’