पर्यटन गन्तव्य बन्दै दहचोक

काठमाडौंको पश्चिमभेकस्थित दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । काठमाडौंंको कलङ्कीदेखि जम्मा पाँच किमि उत्तर पश्चिममा अवस्थित दहचोकमा पछिल्लो समयमा स्वदेशी तथा विदेशी पर्यटकहरू पदयात्राका लागि दिनहुँ जाने गरेका छन् ।प्राकृतिक सौन्दर्यले भरिपूर्ण दहचोकको डाँडामा रहेका पौराणिक महत्वका इन्द्र दह, कालुपाण्डेको समाधिस्थल, पृथ्वीनारायण शाहले निर्माण गरेको प्राचीन मनकामना मन्दिरको अवलोकन पनि पदयात्रीको रोजाइको विषय बनेको छ । लगभग दुई घण्टा समयावधिको छोटो दूरीको पदयात्राका लागि आकर्षक गन्तव्य बनेको दहचोकमा विशेषगरी सार्वजनिक विदाका दिन स्वदेशी पर्यटकहरू पदयात्राका लागि पुग्ने गरेको दहचोक पर्यटन विकास समाजका कोषाध्यक्ष शशी गिरी बताउँछन् । समुद्री सतहबाट २३७० मिटर उचाइमा रहेको दहचोकमा पदयात्राका माध्यमबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न र ऐतिहासिक स्थलहरूकोे अवलोकनमा पदयात्रीहरू रमाउने गरेको गिरीले बताए । पदयात्राका लागि दहचोक गाविसको वडा नं. ३ स्थित खहरेबाट इन्द्रदहसम्म पुग्ने पदमार्गको निर्माण सम्पन्न भइसकेको छ भने पदयात्रीहरूले दहचोकको वडा नं. ४ बस्नेत छापदेखि इन्द्रदहसम्मको अर्को मार्ग पनि प्रयोग गर्ने गरेका छन् ।पछिल्लो समयमा नैकाप, दहचोकको गछेगाउँ र बस्नेत छापबाट पनि इन्द्रदहसम्म पुग्ने मोटरबाटो निर्माण भएकाले पदयात्राका साथै अवलोकनका लागि पनि पर्यटकहरू इन्द्रदहसम्म पुग्ने गरेको ददहचोकका समाज सेवी शिव राम गिरीले बताए ।उनका अनुसार दहचोक पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गए पनि यस क्षेत्रमा खानेपानीको चरम समस्याले पदयात्रीहरूलाई समस्या पर्ने गरेको छ । पदयात्राका लागि जाने पदयात्रीहरूलाई बाटोमा खानेपानीको सुविधा मात्र उपलब्ध गराउन सके पनि उनीहरूले ठूलो राहतको अनुभूति गर्ने उनले बताए ।उपत्यकामा विभिन्न पदयात्राका गन्तव्यहरू विकास भए जस्तै पदयात्रालाई लक्षित गरी विभिन्न पूर्वाधारहरू विकास गर्नसकेमा दहचोक उपत्यकाकै उत्कृष्ट रोजाइमा पर्न सक्ने अवस्था देखिएको छ



jibss