बाढीपहिरो मृतकको संख्या ५० पुग्यो, ३० बेपत्ता

182

रोशन दानी,

अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ।

आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार ११०४ जनाको उद्धार गरिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं– ३ मा १३, प्रदेश नं– ५ र ६ मा दुई/­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो।

उपत्यकाको काठमाडौंमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक/­एक जनाको ज्यान गएको छ।

प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहा,महोत्तरीमा एक/­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश नं–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन/­तीन, सिन्धुलीमा तीन र धादिङमा दुई तथा रामेछाप र चितवनमा एक/­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक/­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेमा काठमाडौं र ललितपुरमा एक/­एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­/एक तथा मोरङ र इलाममा तीन/­तीन जना छन्। प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक/­एक जना बेपत्ता छन्। प्रदेश नं– ३ को सिन्धुलीमा ५ जना र धादिङमा एक जना बेपत्ता छन्।

यस्तै, कर्णालीको डोल्पास्थित कासिल खोलाले बगाएर ७ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ।

अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।