
काठमाडौं । बिमस्टेक सम्मेलनलाई लक्षित गरी काठमाडौंका मुख्य सडक सिँगारिएका छन् । तर, भित्री गल्ली र चोकहरूमा भने केही दिनदेखि फेरि फोहोरको डंगुर लाग्न थालेको छ । पछिल्लो समय परेको वर्षाका कारण सिसडोलमा फोहोर खन्याउन समस्या भएको छ ।
फोहोर उठाएर गएका ट्रक हिलाम्मे बाटोका कारण सिसडोलमै जाममा परेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढाउँदैछ । अहिले निजी कम्पनीले पनि काठमाडौंमा फोहोर संकलन बन्द गरेका छन् । काठमाडौं महानगरपालिकामा मात्र ३५ निजी कम्पनीले घर–घरबाट फोहोर उठाउने गर्छन् ।
बुधबार सिसडोल पुगेका ८० ट्रक हिलोबाटोकै कारण फोहोर खसाल्न नसकेर जाममा परेको सिसडोलस्थित काठमाडौं महानगरपालिकाका कर्मचारी सरकारदीप श्रेष्ठले बताए । फोहोरमाथि माटो छापेर बनाएको बाटो पानीले बगाएको र पानी पनि परिरहेकाले नयाँ माटो छाप्न समस्या भएको उनले सुनाए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।a