
काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको जहाज दुर्घटनामा परी घाइते बनेकी एमबीबीएस अध्ययनरत सुदुरपश्चिमको बिकट जिल्ला अछामको सदरमुकाम मंगलसेनकी प्रिन्सी धामीको पनि दु:खद निधन भएको छ।
धामीको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा निधन भएको हो । काठमाडौंको जमल स्थित भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण भएकी प्रिन्सीले लैनचोरको निस्ट कलेजबाट विज्ञान संकायमा ७४ प्रतिशत अंक प्राप्त गर्दै प्लस टु तह पास गरेकी थिइन् । बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामीलगायत १४ जना मेडिकल विद्यार्थी र अन्य नेपाल घुम्न आएका यात्रु र चालक दलका सदस्य गरी ७१ जना सवार युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी धामीको उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएको उनका आफन्तले जनाएका छन् ।