‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान

 ‘दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवनशैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिम लामिछाने काजी दोस्रो भएका छन्। युरोरडिस फोटो अवार्ड २०२१’ मा  लामिछानेले खिचेकाे तस्बिर दोस्रो स्थान हासिल गर्न सफल भएको हाे। गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन्।

विभिन्न ३० मुलुकका चार सयभन्दा बढी फोटोपत्रकारले खिचेका दुई हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ।  प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएका थिए।

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा-ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसीले ह्विलचियरका सहायताले विद्यालय पुर्‍याउँदै गरेको फोटो लामिछानेले प्रतियोगिताका लागि पठाएका थिए।

एघार वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ। ओआईबाट ग्रसित भई हिँड्डुल गर्न नसके पनि पढ्ने इच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो।

फोटोका माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भने, ‘सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु।’ फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आफनो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए। रासस