योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ

२२ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् । पक्राउ पर्नेमा कर्माचार्यसँगै उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का रहेकाे राष्ट्रिय ट्रक यातायात व्यवसायी महासंघ केन्द्रीय काेषाध्यक्ष राजेन्द्र विक्रम बाँनियाले जानकारी दिए । महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् । शुक्रबार राति नै महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसाग माग गरेको थियो । शनिबार सााझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडे २७ गतेदेखिको अनिश्चितकालीन हड्ताललाई अघि सार्ने योजना महासंघको थियो । यही विषयमा छलफल गर्न शनिबार सााझ जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।