
राजा महेन्द्रले वि.सं २०१७ सालमा ‘कु’ गरि आफैंले शासन सत्ता चलाए । त्यसको विरूद्धमा विभिन्न राजनीतिक दलहरू र जनता पटक पटक आन्दोलनमा उत्रँदा सप्तरीका शुकदेव राजपुत मारिए, उनी मारिएनन् मात्रै उनको परिवारको सर्वश्वहरण समेत गरियो । हनुमाननगर कंकालिनी नगरपालिका, स्थित इनरूवा टोलका शुकदेव राजपुतलार्इ सप्तरी जिल्लाकै पहिलो शहिदका रूपमा लिइयो ।
आफ्ना बाबुले शाहदत प्राप्त गरेसँगै सुकुम्बासी भएको राजपुत परिवार अभावकै बीच दिन गुजार्न थाल्यो । सर्वश्वहरणपछि अभावै अभावको जीवन गुजारिरहेका शहिद शुकदेवका छोरा रामसिंह राजपुतले वि.सं. २०४६ सालमा भारतमा भएको दोश्रो अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक समेत दिलाउन सफल भए ।

रामसिंहका बाबुले देशका लागि ज्यान दिए, रामसिंहले देशका लागि स्वर्ण पदक दिलाए तर राज्यले उनीहरूका लागि के दियो रामसिंह आफैँलार्इ थाहा छैन् । सोझा रामसिंह अहिलेपनि हनुमाननगरमा झुपडीमा बसीरहेका छन्, उनको झुपडीको भित्तामा ३० वर्ष पहिले आफुले देशका लागि जितेको स्वर्णपदक झुण्डिएको तर उनलार्इ परिवारका सदस्यदलार्इ साँझ बिहान चुल्होमा के पकाउने भन्ने चिन्ता कायमै छ ।
देशमा २०१७ सालपछि थुप्रै राजनीतिक उथलपुथल भइसकेतापनि सप्तरी जिल्लाका पहिलो शहिद शुकदेव राजपुतको परिवारप्रति राज्यले गर्नुपर्ने व्यवहार बिर्सिएको स्थानीयहरूको बुझाइ रहेको छ ।