वैशाख २६ देखि देशभर सार्वजनिक यातायात ठप्प गर्ने व्यवसायीको निर्णय

काठमाडौं । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।



jibss

सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।

‘हामीले सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको भनियो, त्यसैले २० गतेपछि कुनै गाडी समय तोकेर छुट्ने छैनन्’ महासंघका एक सदस्यले भने, ‘२६ गतेदेखि बन्द भनिए पनि २० गतेबाट नै सार्वजनिक यातायात सेवा प्रभावित हुनेछ ।’

आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने उनले बताए ।