साउनदेखि सवारीमा इम्बोस्ड प्लेट अनिवार्य

1796
Embossed number plate

काठमाडौँ, १३ असार । सरकारले आगामी साउनदेखि सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी थालेको छ ।

यातायात व्यवस्था विभागले साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जनाएको छ ।

विभागले आफ्नो पक्षमा सर्वोच्च अदालतबाट फैसला आएकाले यस्तो निर्णय गरिएको बताएको छ । सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ ।

यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जोड्न सुरु गरेको थियो ।

इम्बोस्ड प्लेट जोड्न दुई पांग्रेको हकमा २५ सय, तीन पांग्रे साना सवारीमा दुई हजार ९ रुपैयाँ र कार, जिप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै, ठूला सवारीले इम्बोस्ड प्लेटका लागि ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।