स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

471

बाँके । बाँकेको भेरी अस्पतालका चिकित्सकमाथि हातपात गर्ने मानबहादुर रावतसहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको छ ।

बिहीबार राति अस्पतालमा उपचाररत दाङ तुलसीपुर-११ का डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितको टोलीले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । प्रहरीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने रावत, भरत रावत र लोकराज रावतलाई ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको लुम्बिनी प्रदेश प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए ।

बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि रावतसहितको समूहले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरूलाई शुक्रबारै बाँके जिल्ला अदालतले पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीआईजी धानुकले बताए ।

यसैबीच भेरी अस्पतालले दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।