
काठमाडौं महानगरपालिकाले निजी साझेदार संस्थाको सहकार्यमा काठमाडौंका सडकका एक हजार २ सय पचासी स्थानमा सोलारबत्ती जडान गर्ने भएपछि आउँदो तिहारबाट काठमाडौंका सडक झिलिमिली हुने भएका हुन् ।
“आउँदो तिहारबाट काठमाडौंका सडकका उक्त स्थानमा सोलारबत्ती जडान भइसक्नेछन् ।” काठमाडौं महानगरपालिकाका योजना अधिकृत रमेश घिमिरेले बताए ।
सार्वजनिक निजी साझेदारी
विके ट्रेड एण्ड सप्लायर्सले महानगरसँग गरेको सम्झौतामा काठमाडौंका सडकमा सम्पन्न गरिने सोलार जडान कार्य सार्वजनिक निजी साझेदारीको सफल नमुना भएको काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारी प्रमुख सुमन अधिकारीले बताए ।
“सोलारबत्ती जडान गरिएको यो योजना सार्वजनिक निजि साझेदारीको सफल नमुना बन्नेछ,” अधिकारीले भने, “महानगरले निजी साझेदारीमा सम्पन्न गर्न लागेको यो पहिलो र सफल नमुना हो ।”
जडान गर्न ल्याइएका सोलार प्यानल, पोल, तार, ब्याट्रीलगायत सम्पूर्ण पाटएपुर्जाहरु चाइनाबाट ल्याइएको पनि अधिकारीले जानकारी दिए ।
सोलारबत्ती : वातावरणमैत्री
काठमाडौंका सडकमा जडान गरिने उक्त सोलारबत्तीहरु पूर्णतय वातावरणमैत्री हुनेछन् । काठमाडौंको विद्युत खपत घटाइ लोडसेडिङ हुनबाट सोलारबत्तीले सहयोग गर्नुका साथै नवीकरणीय ऊर्जाको प्रयोगमा महत्वपूर्ण भूमिका खेल्ने सोलारबत्तीहरूले मौषम परिवर्तनमा सहयोगी भूमिका खेल्ने र यसका तारहरू अन्डरग्राउण्ड हुने भएकाले तारहरूका कारण पैदलयात्रुहरुले सास्ती बेहोर्नु नपर्ने अधिकारीले बताए ।
महानगरले यसरी असुल्छ राजश्व
उक्त सोलारबत्तीका पोलमा ३ फिट बाइ ४ फिटको विज्ञापनबोर्ड राखिने छ । पोलको वार्षिक रोयल्टी ८ हजार ७ सय र बोर्डमा राखिएको विज्ञापनको वार्षिक कर ७ हजार २ सय बिके ट्रेडर्सले काठमाडौं महानगरपालिकालाई बुझाउने सम्झौता भएको योजना अधिकृत रमेश घिमिरेले जानकारी दिए ।
सडकका सोलार पोलमा जडान गरिएका कुल १२ सय ८५ पोल र सोही संख्याका विज्ञापनबोर्डबाट काठमाडौं महानगरपालिकाको खातामा वार्षिक २ करोड ४ लाख ३१ हजार ५ सय राजश्वमा वृद्धि हुन जान्छ ।
हुस्सु लाग्ने मौषममा सवारी आवागमनमा सहायक
उक्त सोलारबत्तीहरूमा इलेक्ट्रोनिक्स सेन्सर जडान गरिएका कारण हुस्सु लागेका दिनमा पनि सवारीसाधनको आवागमनमा सहज हुने पनि अधिकारीले बताए । “पुस, माघका हुस्सु लागेका दिनमा पनि सोलारबत्ती बल्ने भएका कारण सवारीसाधनको आवागमनमा सोलारबत्तीले महत्वपूर्ण भूमिका खेल्नेछ,” अधिकारीले भने, “यस कारण उक्त सोलारबत्तीहरुले सवारी दुर्घटना न्यूनिकरणमासमेत सहयोगी भूमिका खेल्नेछन् ।”
काठमाडौंका यी सडकखण्डमा सोलारबत्ती
त्रिपुरेश्वर–कलंकी, त्रिपुरेश्वर–ठमेल–नयाँ बसपार्क, त्रिपुरेश्वर–कोटेश्वर र पुतलीसडक–डिल्लीबजारका सडकमा सोलारबत्ती जडानका लागि १० वर्षसम्मका लागि सम्झौता भएको उक्त निजि कम्पनिलाई काठमाडौं महानगरपालिकाले ०७३ कात्र्तिकमा एकवर्षभित्र काम पूरा गरिसक्न कार्यादेश दिएको थियो ।