आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

चन्द्रागिरि ।

आज कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन । आज हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउँदैछन् ।
हिन्दु विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दुहरु कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।
बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी भनिन्छ । आजको दिनमा छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्छन् । बाबु नहुनेहरु विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।
प्रवासमा रहनेहरुले भने आफ्नो बाबुलाई फोन तथा अनलाइन मार्फत सम्पर्क गरि आफ्नो बाबुबाट आसिर्बाद लिने गर्दछन ।