आज दशैको फुलपाती बिशेष हर्षोउल्लासका साथ मनाईदैं

आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । घटस्थापनाका दिन राखिएको जमरा र फुलपातीलाई आज दशैंघरमा भित्र्याईन्छ । कालरात्री देवीको पूजा अर्चना गरिनुका साथै नेपालीका घरघरमा फुलपाती भित्र्याईन्छ । दसैंघरमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र नयाँ फलफुलका पालुवालाई शुभ साईतका रुपमा फुलपाती मानेर भित्र्याईन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दसैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्याईंदै आएको छ । गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा, पञ्चेबाजा सहित सिंगारिएका कलस्यौलीहरू, सांस्कृतिक झाँकी र पाँचजना गुरु पुरोहितको समूहले हर्ष बढाईंका साथ बसन्तपुर हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछन् ।
आजकै दिन गोरखा दरबारमा भने साइत हेरी भृकुटी सुसारेहरुले दरबार क्षेत्रमा रहेको जंगलबाट ल्याएका नवपत्रिका अर्थात नौ खालका फुलहरु- जयन्ती, अशोका, वेलपत्र, केरा, उखु, सामा, धान, फुन्द्रेका फूल सतिपिपलको निसान सिंगार्ने चौतारोमा राख्ने र गोरखा दरबारबाट बाजागाजा सहित आएका कलस्यौडीहरुले मालश्री गीत गाउँदै बाजा बजाउँदै फुलपातीलाई डोलीमा राखेर गोरखा दरबारमा भित्र्याउने गर्दछन् । फुलपाती दरबारभित्र भित्र्याउँदा कालो बोकाको बली दिने चलन रहेको छ । त्यसैगरी आज देशभरिका प्रमुख शक्ति पिठ, देवी मन्दिर, नेपाली सेना तथा प्रहरीका तल्लोदेखि उपल्लो तहका अड्डाहरुमा बढाईंका साथ फुलपाती भित्र्याउने चलन रहेको छ । फुलपाती भित्र्याउने साईत अनुसार टुडिखेलमा नेपाली सेनाले फुलपातीको बढाईं जात्रा प्रस्तुत गर्ने गर्दछन् । नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परम्परादेखि नै चल्दै आएको छ । उक्त बढाईंको राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरुले प्रत्यक्ष अवलोकन गर्दछन् भने सर्वसाधारणलाई समेत त्यसको अवलोकलन गर्ने अवसर मिल्दै आएको छ ।
फूलपातीसंगै दसैं पूर्णरुपमा सुरु हुन्छ । फुलपातीका दिनदेखि सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संघसंस्थाहरु विदा हुने गर्दछन् । यसो हुँदा मानिसहरु फुर्सदिला भई टाढाटाढा रहेका आफ्ना घर जाने मौका पाउँछन् । दशैं मान्न घर फर्किनेहरूको भिडले यातायात साधन भरिभराउ हुन जान्छन् । बजारहरुमा विशेष चहलपहल सुरु हुने र नयाँनयाँ अनुहारका मानिसको आवतजावतले रमाईलो अनुभूति गराउँदछ । फूलपातीकै दिनदेखि गाउँघर शहरबजारमा रोटे र लिङ्गे पिङ हाल्न थालिन्छ