आज लक्ष्मीपूजा

कात्तिक २१ गते । यमपञ्चकको तेस्रो दिन बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ । फोहर र उज्यालो नभएको स्थानमा लक्ष्मीको वास हुँदैन भन्ने मान्यता अनुरुप यो दिन भकारी, धनसार, अट्टालिका, बुइँगल, कोठाचोटा, आँगन सबै स्थान सफा र उज्यालो गरी दीपावलीसाथ लक्ष्मीको आराधना गर्ने प्रचलन छ ।
पात्रो अनुसार गाई र गोरुपूजा बिहीवार तोकिए पनि कसैकसैले लक्ष्मीपूजाकै दिन लक्ष्मीको प्रतीक मानेर गाईलाई पूजा गर्ने प्रचलन छ । यसै दिन गाईको पुच्छरमा जनैपूर्णिमाका दिन बाँधिएको डोरो बाँधेर बैतरणी नदी पारको मनोकाङ्क्षा पनि राखिन्छ ।
ज्योतिषशास्त्र अनुसार स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको पूजा गर्दा लक्ष्मी स्थिर भएर रहन्छिन् भन्ने मान्यता छ । ज्योतिषी डा. सुनिल सिटौलाका अनुसार घाम अस्ताउनु अघिको २४ मिनेट र पछिको प्रदोषकालमा उद्यमी व्यावसायीले लक्ष्मीको पूजा गर्दा राम्रो हुन्छ भने गृहस्थका लागि साँझ ५ः४३ देखि ७ः३५ बजे सम्मको समय उत्तम रहेको छ ।