इम्बोस्ड नम्बरमा प्राविधिक त्रुटि, जडानमै समस्या !

काठमाडौं । कोटेश्वरका शिव हमाललाई हुण्डाई कम्पनीको आफ्नो कारमा इम्बोस्ड नम्बरप्लेट जडान गराउनु थियो ।  यसका लागि उनी एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयमा पुगे ।

चैतसम्ममा इम्बोस्ड नम्बर लिइसक्नुपर्ने सरकारको नियम भएकाले उनले अनलाइनमार्फत इम्बोस्ड नम्बरको फारम भरे र कार्यालयमा गई सम्पूर्ण कागजी प्रक्रिया पनि पूरा गरे ।

३ हजार २ सय खर्च गरेपछि कार्यालयले उनलाई फारमअनुसार इम्बोस्ड नम्बर उपलब्ध गरायो । तर, अन्त्यमा त्यो इम्बोस्ड नम्बर प्लेट उनको कारमा ‘फिट’ भएन । कारण थियो नयाँ इम्बोस्ड नम्बरप्लेटको फरक आकार ।

हमाल एक प्रतिनिधिपात्र मात्र हुन् ।

एकान्तकुनामा रहेको उक्त कार्यालयमा दैनिक १ सयभन्दा बढी कार, जिप इम्बोस्ड नम्बर प्लेट जडानका लागि आउने गरेका छन् । जसमध्ये धेरैजसो कम्पनीका सवारी साधनमा प्लेटको आकार नमिल्ने गरेको छ ।

यद्यपि साविकको आकारसँग नयाँ प्लेटको आकार नमिल्दा इम्बोस्ड नम्बर प्लेट जडानमा समस्या देखिएको छ ।

इम्बोस्ड नम्बरको आकार सवारी साधनमा नमिलेपछि त्यहाँ रहेका प्राविधिक कर्मचारीले सवारीको नम्बरप्लेट लाग्ने भागमा ‘ड्रिल’ गरेर इम्बोस्ड नम्बरप्लेट अड्याउने गरेका छन् ।

नयाँ नम्बरप्लेटको भाग साविकको नम्बर प्लेटको आकारभन्दा बढी रहेकाले उक्किने सम्भावना पनि बढी रहेको प्राविधिक बताउँछन् । यसैले त्यस भागमा टेप लगाएर अड्याउने सुझाव त्यहाँ नम्बरप्लेट जडान गरिरहेका कर्मचारीले सेवाग्राहीलाई दिने गरेका छन् ।

“इम्बोस्ड नम्बरप्लेटको आकार साविकअनुसार नहुँदा कतिपय गाडीमा नम्बरप्लेट फिट गर्न असहज भएको छ,” यातायात व्यवस्था कार्यालयहातामा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने एक कर्मचारीले बाह्रखरीसँग भने, “त्यस्तो अवस्थामा नयाँ ठाउँमा ड्रिल गरी स्क्रुप कस्नुपर्छ ।”

सरकारले गत भदौबाट जारी गरेको इम्बोस्ड नम्बरप्लेटको आकार सवारी साधनको वर्गीकरण गरेर तयार गरिने यातायात व्यवस्था विभागले बताएको थियो ।

तर विभिन्न प्रकारका सवारी साधनमा हुने नम्बरप्लेटको आकारको नमुना सङ्कलन नै नगरी इम्बोस्ड नम्बरप्लेट उत्पादन गर्दा यस्तो त्रुटि देखिएको छ ।

सेवा, सुविधा नपाइएको गुनासो  

इम्बोस्ड नम्बरप्लेट जडान गरिसकेका र जडान गर्ने क्रममा रहेका सेवाग्राहीहरुले इम्बोस्ड नम्बरप्लेट लिन खर्चिलो भएको र यसमा रहेका कुनै पनि सुविधा आफूहरुले उपभोग गर्न नसकेको प्रतिक्रिया व्यक्त गरेका छन् ।

“इम्बोस्ड नम्बर जडानपछि गाडी कहाँ छ भन्ने थाहा हुने बताइएको थियो,” आफ्नो कारमा हालै इम्बोस्ड नम्बरप्लेट जडान गराएकी बालकुमारीकी ऋचा शाक्यले गुनासो पोखिन्, “तर मैले यस्तो कुनै सुविधा पाएकी छैन ।”

यस्तै इम्बोस्ड नम्बरमा अंग्रेजी भाषाका मात्र अङ्क, अक्षर लेखिएकाले देवनागरी मात्र पढ्न सक्नेले इम्बोस्ड नम्बरप्लेटमा रहेका अंग्रेजी अङ्क, अक्षर पढ्न नसक्ने थप समस्या छ ।

यसका साथै इम्बोस्ड नम्बर प्लेटमा हाल प्रदेशको नम्बर मात्र लेखिएकाले सरकारले प्रदेशको नामाङ्कन गरेपछि इम्बोस्ड नम्बरप्लेटमा पनि पुनः प्रदेशको नाम लेख्नुपर्ने जटिलता देखिएको छ ।

एकपटक जडान गरिसकेको नम्बर १० वर्षसम्म खोल्नुनपर्ने विभागको भनाइ रहे पनि सरकारले प्रदेशको नामाङ्कन गरेपछि इम्बोस्ड नम्बरमा प्रदेश नम्बर कि नाम रहने भन्नेमा विभाग आफै स्पष्ट छैन ।

“एकपटक जडान भएको इम्बोस्ड नम्बरप्लेट १० वर्षसम्म खोल्नुपर्दैन,” यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “सरकारले प्रदेशको नाम राखेपछि आवश्यक परिमार्जन गर्नेछौं ।”

विगागले पर्याप्त तयारी बिना नै इम्बोस्ड नम्बर जारी गरेको र जोडि सक्नैपर्ने डेटलाइन तोकेकाले हाल सेवाग्राहीहरुलाई इम्बोस्ड नम्बरप्लेट जडान गराउनैपर्ने बाध्यता छ ।

जडानका लागि आवश्यक डिभाइस र तालिम प्राप्त कर्मचारीहरु खटाउन नसक्दा नम्बरप्लेट जडानका लागि हप्तौंदिनसम्म कार्यालय धाउनुपरेको समेत सेवाग्राहीहरुको गुनासो छ ।