“कुरा मिलिसक्यो, अब पेट्रोलियम पदार्थ सहजै पाइन्छ”- नेपाल अायल निगम


चन्द्रागिरि ।

केही दिनदेखि राजधानीका पेट्रोल पम्पहरुमा पछिल्लो नाकाबन्दीको समयको झल्को दिने खालको सवारीको लामो लाइन देखिएका छन् । यो लाइन पर्याप्त तेलको अभाव भएर नभई निजी व्यवसायीले तेल नबेचेका कारण देखिएको हो । तर, निजी व्यवसायी र निगमबीचको सहमतिपछि भने अब व्यवसायीले तेल किनबेच गर्ने भएका छन् ।

बागमती पेट्रोलियम डिलर्स एशोसिएशनले साउन २ देखि थालेको दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, नुवाकोट लगायतका बागमती अञ्चलभरीका जिल्लामा पेट्रोल किनबेच गरेको थिएन । निगमले नापतोलको प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै व्यवसायी सम्मेलित एक उपसमिति गठन गरेपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

आयल निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार बुधबार बसेको सर्वपक्षीय बैठकपछि निगमका ईञ्जिनियर तथा निर्देशक दिपक बरालको संयोजकत्वमा तराईका जिल्लामा पेट्रोल तथा डिजेलमा हुने प्राविधिक नोक्सानीको समेत अध्ययन गर्न उपसमिति गठन गरिएको छ ।

निगम, व्यवसायी, उपभोक्तावादी संस्थाका २­२ तथा नापतोल तथा गुणस्तर विभागको तर्फबाट एक गरी सात सदस्य ‘पेट्रोलियम पदार्थ प्राविधिक नोक्सान अध्ययन उपसमिति’ गठन गरेपछि व्यवसायी डिपोबाट तेल उठाउन र बेच्न सहमत भएका हुन् ।

उक्त उपसमितिलाई १५ दिनभित्र तराईका जिल्लामा निगमको डिपोबाट पम्पसम्म तेल पुर्याउँदा हुने प्राविधिक नोक्सानीको अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यभार दिइएको छ ।

सो समितिले प्रतिवेदन बुझाएपछि तराई तथा बागमतीका जिल्लामा हुने नोक्सानीको निश्कर्ष निकाली अघि बढ्ने सहमति भएको बागमती पेट्रालियम डिलर्स एशोसिएशनका अध्यक्ष अच्युतबहादुर खड्काले सेतोपाटीलाई बताए ।

‘गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा गठित समितिले हिजो अध्ययन प्रतिवेदन बुझाएको थियो ।’उनले भने ‘तर त्यसमा तराईका जिल्लामा हुने नोक्सानीको अवस्था नसेमेटिएका कारण थप ती जिल्लामा समेत हुने नोक्सानी हेरेर निगमले एकमुष्ट रुपमा प्राविधिक नोक्सानीको हालको भरपाईको परिणामलाई पुननिर्धारण गर्ने प्रतिबद्धता जनाएपछि थानकोट डिपोहरुबाट आजैदखि तेल लोड गर्न थालिएको छ । ’

उनले बेलुकासम्म बन्द रहेका सबै निजी पम्प खुल्ने बताउँदै सरकारी तथा साझाका पम्पहरुमा लाइनमा बसेका उपभोक्तालाई लाइनमा नबस्न आग्रह समेत गरे । उनले भने, ‘निगमसँगको सहमतिपछि तेल उठाउन थालिसकेका छौँ, उपभोक्ताले तेल हाल्न कै लागि लाइनमा बसिरहनु पर्दैन ।’

यस अघि बागमती अञ्चलभरीका व्यवसायीले निगमको थानकोट डिपोबाट पम्पसम्म तेल ल्याउँदा हुने प्राविधिक नोक्सानीको पूर्ण भरपाई गरिनुपर्ने माग सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिएका थिए ।

हाल निगमले प्राविधिक नोक्सानी बापत ४ हजार लिटर तेलमा ३५ लिटर भरपाई दिँदै आएको छ । निगमले ४ हजार लिटर पेट्रोल डिपोबाट ल्याएर बेच्दा ९९ लिटर र ३ हजार लिटर डिजेल ल्याउँदा ४८ लिटरसम्म कम हुने भन्दै सतप्रतिशत भरपाई हुनुपर्ने बताउँदै आएको छ ।

यस अघि एशोसिएशनले गत असार १० गते बृहत भेला आयोजना गरी २० गतेभित्र माग सम्बोधन नभए २३ गतेबाट बागमती अञ्चलभित्रका कुनैपनि निजी पम्पहरुबाट तेल नबेच्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । व्यवसायीका मागप्रति गम्भीर रहेको जनाउँदै निगमका कार्यकारी निर्देशक गोपाल खड्काले असार मसान्तभित्रै प्राविधिक नोक्सानीको हालको भरपाईको परिणामलाई पुननिर्धारण गरिने भन्दै पत्राचार गरेपछि असार मसान्तसम्म आन्दोलन स्थगन गरिएको थियो ।

असार मसान्तभित्र पनि कुनै सुनुवाई नभएको भन्दै एशोसिएशनले साउन २ गतेबाट बागमती अञ्चलभरी तेल किनबेच गरेको थिएन ।