कोरोना परीक्षण किन घट्यो ?

काठमाडौं । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।

गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा दैनिक १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको देखिन्छ ।

यसअघि, २२ हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । देशभरका ९० बढी अस्पताल तथा प्रयोगशालाबाट परीक्षण गरिँदै आए पनि परीक्षण दर केही दिनयता न्यून देखिएको छ ।

नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित संख्यासमेत घटेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार केही प्रयोगशाला तथा अस्पतालले परीक्षण ‘रिपोर्टिङ’ नदिँदा पनि संख्या कम देखिएको हो । ‘अस्पताल जानेको संख्या पनि कम हुँदै गएको छ,’ डा.पौडेलले भने, ‘रिपोर्टिङ कम भएर पनि संख्या घटेको हुन सक्छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।