चन्द्रागिरी महोत्सवमा करिब साढे दुई करोडको कारोबार

रोशन दानी, धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा कला, संस्कृति र प्राकृतिक सौन्दर्यको पहिचान बढाउने उद्देश्यले आयोजित दोस्रो चन्द्रागिरी महोत्सव भव्यताका साथ सकिएको छ ।

‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका साथ सुरु भएको दोस्रो चन्द्रागिरी महोत्सव चन्द्रागिरी नगरपालिका र देवदर्शन मिडिया प्रा.लि.को आयोजना तथा प्रदेश नं. ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा सम्पन्न भएको हो ।

महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलन लगायतका ७० बढी स्टल रहेको महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रस्तुति समेत राखेका थिए ।

चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा ९ दिनसम्म चलेको महोत्सवको समापन कार्यक्रममा बोल्दै चन्द्रगिरीका नगर प्रमुख घनश्याम गिरीले पर्यटकीय स्थल चन्द्रागिरीलाई स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरिका ऐतिहासिक विषयवस्तु, उत्पादन तथा अन्य विषयलाई मूर्तरुपमा पहिचान महोत्सव आयोजना गरिएको बताए ।

उनले उद्देश्य अनुरुप महोत्सव सफल भएको दाबी गर्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य अन्जना बिशंखेले चन्द्रागिरीको विगत र वर्तमानलाई स्मरण गरेर आगामी कार्ययोजना तय गरिनुपर्ने बताए ।

उनले भनिन्, ‘महोत्सवमा सिकेको ज्ञानले आगामी दिनमा राम्रो काम गर्नको लागि प्रेरणा मिल्नेछ भन्ने बिश्वास लिएकी छु ।’

सोही अवसरमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी कुमार विक्रम थापा र महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक शंखर खड्कालाई सम्मान समेत गरिएको थियो । प्रहरी सेवामा रहेर समाजमा शान्ति सुव्यवस्था र अमन चयन कायम गर्न खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको महोत्सव प्रचारप्रसार समितिका रोशन दानीले बताए ।

उनका अनुसार चन्द्रगिरीका नगरप्रमुख घनश्याम गिरीले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर पुर्याएको योगदानको कदर गर्दै पत्रकार विष्णु नेपाल, अच्युत रेग्मी, रविन्द्र पौडेल, कुवेरराज गिरी, बिकल सापकोटा लगायतलाई सम्मानित गरेका थिए ।

कार्यक्रमका संयोजक रामनारायण घिमिरेले महोत्सव अवधिभर दुई करोड २५ लाख बराबरको कारोबार भएको बताए । साथै, महोत्सवको ६० हजार बढीले अवलोकन गरेको उनले बताए ।

कार्यक्रमका सह–संयोजक देवेन्द्र प्रधानले धर्म, संस्कृति र परम्परालाई जिवित राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र चन्द्रगिरीको संस्कृतिलाई उजागर गर्न यो महोत्सव निकै फलदायी भएको बताए ।