जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरिको नैकापबाट पाँच जना पक्राउ

काठमाडौं जेठ १। चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापकाे किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यु रेष्टुरेन्टबाट प्रहरीले  जुवातास (सट्टाबाजी) खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यु रेष्टुरेन्ट एण्ड रिसोर्टको उत्तरतर्फ रहेको चेन्जिङ कोठाभित्र अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास (सट्टाबाजी) खेलिरहेको भन्ने गोप्य सुचना आधारमा छापा मारेकाे थियाे।

प्रहरीकाे विशेष स्राेतका अनुसार काेराेना महामारीका बिच अबैध तवरबाट जुवा खेलाइरहेकाे सुचना प्रहरीलाई प्राप्त भएपछि जुवा अड्डामा छाप मारेर ५ जना जुवाडे पक्राउ गर्न सफल भएकाे हाे।प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला काठमाडाैँ नागार्जुन न.पा वडा नं. ५ घर हुने बर्ष ५० को भाईराजा शाहा ठकुरीको साथबाट नगद रकम पाँच हजार रुपैयाँ, ५० वर्षीय मिन बहादुर रजालको साथबाट सत्र हजार रुपैयाँ, नागार्जुन न.पा वडा नं. १० घर हुने २६  वर्षीय पर्वत खड्काको साथबाट नौ हजार रुपैयाँ,  ४७ वर्षीय कृष्ण बिडारीको साथबाट बत्तिस हजार रुपैयाँ, ३७ वर्षीय कुमार लामाको साथबाट सैतिस हजार पाँच सयसहित प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ परेकाको साथबाट तास ५२ प्रति, तास खेल्न प्रयोग गरिएको मण्डी थान १  र जम्मा नगद रकम रु १ लाख ५ हजार ५ सय समेत रितपुर्बक बरामद गरिएकाे प्रहरीले जनाएको छ।प्रहरीले पक्राउ गरेका विरुद्ध  थप अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ गरिएका पाँच जनालाई जुवा ऐन अन्तर्गत म्याद थप गरी कारबाही गरिने भएकाे छ।

फोटो : रोशन दानी