ट्रिपर चालकलार्इ संयमित हुन ट्राफिक प्रहरी प्रमुखको अाग्रह, अराजक भइरहे कारबाही

चन्द्रागिरि ।

 उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले  मनपरी ढंगले सडकमा सवारी साधन चलाउने चालकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । विशेष गरी टिपर व्यवसायीले सडक अनुशासन मिचेर टिपर चलाउने गरेको जनगुनासो बढेको भन्दै उनले नियम कानुन नमान्नेलाई कडा कारबाही गर्ने बताएका हुन् ।

‘प्रत्येक चालकले अनुशासित भएर चलाउनपर्छ,’ यातायात व्यवसायी तथा सरोकारवाला निकायसंगको छलफलमा उनले भने, ‘टिपरका मालिक को हुन ? त्यो सबै मलाई थाहा छ, गुण्डाको लगानी टिपरमा छ, नियम मिचेर उपत्यकाका डाँडा खन्ने, माटो बेच्ने, अराजक तरिकाले गाडी चलाउने ? अब त्यो गुण्डाराज यहाँ चल्नेवाला छैन, पक्राउ गरेर कारबाही गर्छु ।’

ट्राफिक प्रहरीको काम ट्राफिक व्यवस्थापनमात्र नभएर नियम उल्लंघन गर्नेलाई पक्राउ गर्ने अधिकारसमेत भएको उनले बताए । ‘प्रहरीको काम सुरक्षा दिने हो,’ उनले भने, ‘जतिबेला पनि सुरक्षा दिन हामी तयार छौं ।’

पछिल्लो समय ट्राफिकजाम बढेको भन्ने जनगुनासो प्रति लक्षित गर्दै एसएसपी खनालले सडकमा खाल्डाखुल्टी बढेकाले सडक विभाग र महानगरले खाल्डाखुल्टी चाँडो पुर्नपर्ने बताए । यदी सम्बन्धित निकायले त्यसप्रति चासो नदिएमा ट्राफिक प्रहरीले खाल्डाखुल्टी पुर्नका लागि जनता र सराेकारवालासँग मिलेर काम गर्न अग्रसर हुने समेत उनले बताए ।

‘राजधानी जस्तो ठाउँमा सडकको यो अवस्था छ, सरोकारवाला निकायले केही गर्दैन भने, ट्राफिक प्रहरी टुलटुल हेरेर बस्दैन,’ उनले भने, ‘जनतासंग मागेर, साधनस्रोत जुटाउँछौं, सडक टाल्छौं, खाल्डाखुल्टीको नाममा जनतालाई सास्ती दिन हुन्न ।’ यस्तै उनले ट्राफिक बत्ति तत्काल नबनाउने हाे भने आफ्नै पहलमा सहयोगी खोजेर मर्मतको काम सुरु गर्नेसमेत बताए ।