दशैँमा घर फर्कँदै हुनुहुन्छ ? एअरपोर्टमा यी सामान ल्याउँदा भन्सार लाग्दैन्

चन्द्रागिरि ।
दशैं-तिहार मनाउन विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? घर फर्किँदा के-के समान लैजान पाइने/नपाइने हो भन्ने अन्योलमा हुनुहुन्छ होला । सरकारले विदेशमा काम गरेर फर्किनेहरुका लागि विभिन्न वस्तुमा भन्सार नलाग्ने ब्यवस्था गरेको छ ।

कतिपय समान ल्याउनै पाइँदैन भने केही समान भन्सार नतिरी ल्याउन पाइन्छ । कतिपय सामानको भन्सार तिर्नुपर्छ ।त्यसैले एयरपोर्टमा आएर झन्झट ब्यहोर्नुभन्दा पहिले नै यस विषयमा जानकार हुनु राम्रो हुन्छ ।
के-के सामन विदेशबाट ल्याउँदा एयरपोर्टमा भन्सार शुल्क लाग्दैन भन्ने अलमल जानकारी राख्दा सास्ती खेप्नु पर्दैन । सरकारकाे झिटिगुन्टा आदेशअनुसार मात्रै समान खरिद गर्नुहोला ।

विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ । विदशेबाट फर्किने धेरैले टिभी, मोबाइल, गहना लगायतका सामाग्री ल्याउँछन् । त्यसबारे विदेशबाट फर्किनेहरुले जान्नैपर्छ, नत्र ल्याएका सामान जफत हुनसक्छ भने महंगो भन्सार पनि तिर्नुपर्ने हुनसक्छ ।

के-केमा भन्सार लाग्दैन ?

दशैंमा विदशेबाट महंगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने पनि समस्या हुनेछ । विदेशबाट १ लिटर मात्रै ल्याउन पाइने व्यवस्था गरिएको छ ।

यस्तै ल्यापटप/कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा पूर्ण भन्सार छुट पाइन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । तर, विदेशमा कामका लागि नगाएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

विदेशेमा काम गरेर फर्किएकाहरुलाई दर्इ थानसम्म नयाँ मोबाइल ल्याउँदा पनि ब्यवहारिकता हेरेर कडाइ नगर्ने गरेको पाइन्छ ।
विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरुले बाजाहरु, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउन भन्सार लाग्दैन् । तर, ठूलो परिमाणमा भने यी वस्तु पनि ल्याउन पाइँदैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने समाग्रीमा पनि भन्सार छुटको व्यवस्था छ । सात किलोग्रामसम्मको खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।

भन्सार के-केमा तिर्नुपर्छ ?

केही सामग्रीमा परिमाण बढी भएपनि एकैपटक ४० प्रतिशतसम्म समदर भन्सार तिर्नपर्ने नयाँ व्यवस्था छ । म्यूजिक तथा भिडियो प्लेयर, रेफ्रिजेरेटर, वासिङ मेशिन, पंखा र रेडियो र १/१ थान ल्याउन सक्छन् । तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ । ३२ इन्च भन्दा ठूलो टिभी ल्याएमा भने इन्चअनुसार भन्सार महशुल तिर्नुपर्छ । तर, एउटाभन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।

१० किलोग्रामसम्म खाद्य सामग्री पनि ल्याउन पाइन्छ तर, यसमा तोकिएको भन्सार भने तिर्नुपर्छ । १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका समान पनि तोकिएको ४० प्रतिशतसम्म भन्सार तिरेर विमानस्थलबाटै ल्याउन सकिन्छ । घरायसी प्रयोजनका लागि ल्याइने मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर २/२ थानसम्म ल्याएमा भन्सार तिर्नुपर्छ ।

व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान व्यक्तिगत प्रयोजनका लागि २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सक्छन् ।

चुरोट दुईसय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म पनि समदरमा ४० प्रतिशत भन्सार लाग्छ ।

काँचो सुनमा पूर्ण रोक

अहिले विदेशबाट काँचो सुनचाँदी (ढिक्का सुन) लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइँदैन । सरकारले गहना बनिसकेका बाहेकको काँचो सुन नेपालमा ल्याउन प्रतिवन्ध लगाएको छ । अहिले सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म मात्रै ल्याउन पाइन्छ ।

पछिल्लो समयमा बैंकहरुले १०० ग्रामको ढिक्का सुन ल्याउन पाउने व्यवस्थाबारेको खबरले धेरैलाई अलमलमा पारेको छ । तर, त्यो बैंकका लागि मात्रै हो भन्ने बुझ्नुपर्छ । कुनैपनि व्यक्तिले काँचो सुन विदेशबाट ल्याउनै पाउँदैन । तयारी गहना भने ५० ग्रामसम्म ल्याउन अनुमति हुन्छ । यसमा कुनै भन्सार पनि लाग्दैन ।