नागढुंगा–धुलिखेल मेट्रोरेल, ३७ किलोमिटर दूरी २ खर्ब लागत अनुमान

नागढुंगा-धुलिखेल मेट्रोरेल मार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) १५ महिनाभित्र सम्पन्न हुने भएको छ । नागढुंगा–कलंकी–कोटेश्वर हुँदै धुलिखेल (अनुमानित) रुट रहने उक्त मेट्रोरेल मार्गको आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) हप्ता दिनभित्र जारी गर्ने लगानी बोर्डको कार्यालयले जानकारी दिएको छ ।

३७ किलोमिटर लम्बाइ अनुमान गरिएको सो मार्गको अध्ययन गर्न कम्पनी छनोट प्रक्रिया तत्काल थालिने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । आशय व्यक्त गर्ने कम्पनीमध्ये योग्यता पूरा गरेकाको सर्ट लिस्ट गरिनेछ ।

 

त्यसपछि ती कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव गर्नका लागि प्रस्ताव माग गरिनेछ । उक्त प्रक्रिया पूरा भएपछि अब्बल कम्पनीलाई विस्तृत सम्भाव्यता अध्ययनको जिम्मा दिइनेछ । यो प्रक्रिया पूरा गर्न २ महिना लाग्नेछ ।

अध्ययन गर्ने कम्पनीसँग सम्झौता गरेको १५ महिनामा अध्ययन प्रतिवेदन बोर्डलाई बुझाउने गरी तयारी भइरहेको प्रवक्ता वाग्लेले जानकारी दिए । यसअनुसार तयारी र अध्ययन पूरा गर्न करिब १८ महिना लाग्नेछ ।

यसअघि शनिबार बसेको लगानी बोर्डको ३०औँ बैठकले नागढुंगा–धुलिखेल मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाउन निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले आशयपत्रसम्बन्धी कागजात स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

विस्तृत सम्भाव्यता अध्ययनमा मुख्यत नागढुंगादेखि धुलिखेल पुग्ने मेट्रो रेलमार्गका तीनवटा विकल्पमा स्थलगत अध्ययन गरिनेछ । अध्ययन कम्पनीले तीमध्ये सबैभन्दा उत्तम विकल्पलाई निर्माण तथा सञ्चालनका लागि छनोट गर्न सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

त्यसबाहेक अध्ययन प्रतिवेदनले आयोजनासँग जोडिने वित्तीय, प्राविधिक, वातावरणीय र सामाजिक विषयलाई पनि विस्तृतमा उल्लेख गर्नेछ ।

लगानी अनुमान

सन् २०१२ मा दक्षिण कोरियन कम्पनी चुम्सुक इन्जिनियरिङले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार काठमाडौं उपत्यकाको भूबनोट रेलमार्ग निर्माणका लागि सहज छैन । भूबनोटकै कारण लागत धेरै लाग्ने अनुमान गरेको थियो ।

रेल विभागमार्फत उक्त कम्पनीले गरेको अध्ययनअनुसार १ किलोमटिर दोहोरो मेट्रोरेल मार्ग निर्माणका लागि न्यूनतम ५ अर्ब र अधिकतम ६ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ ।

यस अध्ययनलाई आधार मान्ने हो भने नागढुंगादेखि धुलिखेलसम्म मेट्रोरेल निर्माण गर्नका लागि न्यूनतम कुल १ खर्ब ८५ अर्ब रुपैयाँ आवश्यक पर्छ भने अधिकतम २ खर्ब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

तर, विस्तृत सम्भाव्यता अध्ययनपछि मात्र लगानी अनुमान यथार्थनजिक पुग्ने ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

अनुदान दिएमा मात्र पिपिपी सम्भाव्य

कोरियन कम्पनीको अध्ययन प्रतिवेदनअनुसार काठमाडौंमा मेट्रोरेल निर्माण तथा सञ्चालनका लागि सार्वजनिक निजी साझेदारी सम्भाव्य छैन । सरकारले कुल लागतको ६० देखि ७० प्रतिशतसम्म अनुदान दिएमा मात्र मेट्रोरेल मार्ग निर्माण गर्न सकिन्छ ।

चाखलाग्दो विषय त सञ्चालन खर्च पनि मेट्रोरेल सञ्चालनबाट उठ्न सक्दैन । ‘यसका लागि पनि सरकारी अनुदान आवश्यक पर्ने देखिन्छ,’ ट्राफिक इन्जिनियर गजुरेलले भने ।यो खबर आजको नागरिक दैनिकमा छ ।