निर्माण प्रक्रिया बढ्यो नौविसे–नागढुङगा सुरुङमार्गको, सन् २०२२ भित्र निर्माण सम्पन्न हुने

नागढुङगा–नौबिसे सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढेको छ ।

सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि ग्लोवल टेण्डर निकालिसकेको छ । गत साउन २३ गते आयोजनाले ग्लोवल टेण्डर आव्हान गरेको हो ।

महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार, ६० दिनभित्र कम्पनीहरुले दिएको आवेदनको मुल्याङकन गरेर प्रारम्भिक सुची तयार पारिनेछ । त्यसपछि आर्थिक तथा प्राविधिक प्रस्ताव खोलिने छ । उच्चतम प्रविधि र न्युनतम लागत प्रस्ताव गर्ने कम्पनले टेण्डर पाउने छ ।

सबै प्रक्रिया सक्नका लागि चार महिनाको समय लाग्ने छ । जनवरीबाट उत्कृष्ट कम्पनीलाई ठेक्का दिएर मोविलाइज गरि कन्स्ट्रक्सनको काम नै थाल्ने योजना महाशाखाकोे छ ।

अहिलेसम्म मुआब्जाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । यो आर्थिक बर्षभित्रमा ९० करोड वितरण गरेर मुआब्जाको विषय टुङग्याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए । आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ ।

दुईवटा लेन ३.५–३.५ मिटरको हुनेछ भने एउटा बीचको लेन साढे दुई मिटरको हुनेछ । सवारीसाधन विग्रिए वा त्यसमा कुनै समस्या आएमा साइड लगाउन वा बाहिरसम्म निकाल्नका लागि यो लेनको प्रयोग गरिन्छ । सुरुङमार्ग भित्रबाट एउटा अर्को इस्केप्ट टनेल निर्माण हुने छ, त्यहाँ दुर्घटना भए बाहिर निस्कनका लागि प्रयोग गरिन्छ ।

जाइकाको आर्थिक र प्राविधिक सहयोगमा जापानको निप्पन इन्जिनयरिङले निर्माण गरेको डिपिआरको अध्ययन गरेर जापान सरकारले ’नो अब्जेक्सन’ लेटर दिएपछि टेण्डर प्रक्रियामा गएको महाशाखाले जनाएको छ ।

नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत बस्नेतछापदेखि सिस्नेखोलासम्म २.७ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ । महाशाखाका अनुसार सुरुङमार्ग ९.५ मिटर चौडाईमा तीन लेनको हुनेछ ।

सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापानीज सरकारको सहुलियत ऋण र छ अर्ब रुपैयाँ नेपाल सरकारको हुनेछ । सन् २०२२ भित्रमा नेपालकै पहिलो सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।