प्रचण्ड-माधव समूहको प्रदर्शन सुरु नहुँदै, सडकमा अत्याधिक जाम

काठमाडौ, माघ २८ । बुधबार ।   प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ ।

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ ।

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

ट्राफिक प्रहरीका सबै जनशक्ति सडकमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बिहानदेखि नै जाम सुरु हुन थालेको भएको बताए ।

जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने उनको अनुमान छ ।

यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’

यस्तो छ जुलुसको रुट

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट बिहान ११ बजेदेखि जुलुस सुरु हुने प्रचण्ड–माधव समूहको संघर्ष समितिले जनाएको छ । ती जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा मिसिई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने छन् ।

पुल्चोकबाट निस्कने जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुगेर मुल जुलुसमा मिसिनेछ ।

त्रिपुरेश्वरबाट निस्कने जुलुस पनि सुन्धारा पुगेर मुल जुलसमा मिसिनेछ । माइतीघर मण्डलाबाट निस्कने जुलुस थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ ।

केशरमहलबाट निस्कने जुलुस दरबारमार्ग, तीनधारा पाठशाला, जमल, कमलाक्षी, असन, इन्द्र चोक हुँदै न्युरोड पुग्नेछ ।

जमलबाट निस्कने जुलुस कमलादी, असन, इन्द्रचोक, जुद्धशालिक, न्युरोड हुँदै सुन्धारा पुग्नेछ । त्यसपछि सुन्धाराबाट निस्कने मूल जुलुस सुन्धारा, बीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक पद्मोदय मोड हुँदै प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुने भएको छ ।

प्रदर्शनीमार्गमा पनि यसअघिको जस्तै ‘टी’ आकारमा सभा हुने छ । सभाका लागि पुरानोबसपार्क भद्रकाली सडकखण्डमा मञ्च निर्माण गरिएको छ ।