प्राचिन नामहरुको संरक्षण र प्रयोग गर्न कीर्तिपुरबासीको माग

काठमाडौं। कीर्तिपुर नगरपालिकालाई स्थानीय संघ नेवाः अगुवाहरुले सामुहिक रुपमा स्थानीय टोलको नाम स्थानीय भाषामा पुरानै राख्नुपर्ने माग  गरेका छन । आउदो नगरसभामा नीतिगत रुपमा पारित गर्नका लागि माग गरिएको सो पत्र  शुक्रबार कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्कालाई बुझाएको हो । कीर्तिपुरका भाषिक कार्यकर्ता एवं नेवाः अभियन्ता बुद्धिलाल ज्यापु, बुद्धिलाल महर्जन, श्रीकृष्ण महर्जन, सरलगोपाल महर्जन, रामभोला महर्जन, अर्जुन महर्जन, रिदेन महर्जन,अमरकाजि महर्जन, दिलकुमार महर्जन, सनिल महर्जन र रत्नशोभा महर्जन र नरेश श्रेष्ठ द्वारा  हस्ताक्षरित पत्र उप प्रमुखलाइ बुझाएको हो।

पत्रमा नव सभ्यताको लामो इतिहास बोकेको ऐतिहासिक थलो कीर्तिपुर नगरपालिकाका  क्षेत्रमा ८०–९० मीटरको छोटो दूरीमै फरक–फरक ऐतिहासिक स्थानको नामहरु भएको हुँदा ठाँउलाई जनाउने यस्ता ऐतिहासिक नामहरुबाट सो नगरपालिकाको  धार्मिक, सामाजिक तथा सांस्कृतिक इतिहास जान्न, बुझ्न र केलाउन सकिने भएकोले  यस्ता स्थानको नाम  नगरपालिकाको भाषिक तथा सांस्कृतिक सम्पत्ति भएको उल्लेख गरिएको छ  ।

स्थान नाम सँग गाँसिएको यस्तो महत्वलाई आत्मसात गरी स्थानीय स्तरमा यिनको संरक्षण तथा अभिलेखिकरण हुनु पर्ने माग गरिएको छ।  कीर्तिपुर नगरपालिकामा  छोटो समयमै अस्वभाविक रूपले बढेको आवासिकरण, हाउजिङ, प्लटिङ, बजारीकरण आदिले त्यहाको प्राचिन स्थानको नाममा पनि  अस्वभाविक परिवर्तन ल्याएको र नया बढ्दो शहरीकरण संगैनयाँ वस्तीहरुमा प्रचलित स्थान नाम पन्छाई कुनै काल्पनिक शब्द पछाडि मार्ग, नगर, बस्ती, टोल, चोक आदि प्रत्यय झुन्ड्याई साइनबोर्ड टाँगिहाल्ने होडबाजी चलिरहेको हुँदा  प्रचलित स्थान नामको  उच्चारण विकृत बनाउने प्रवृति पनि बढेको  उल्लेख गरिएको छ ।

साथै नगरपालिकाले मेट्रिक्स प्रणाली अन्तर्गत नगरपालिका अन्तरगतका सबै ठुला–साना सडकलाई निश्चित नाम दिने योजनामा कुरा प्रति स्थानीय संघ नेवाः अगुवाहरुको  ध्यानाकर्षण भएको  र यसरी भविष्यमा बाटोको नामाकरण गर्दा व्यक्ति विशेषले आफुखुसि कल्पेको निराधार शब्दलाई प्राथमिकता नदिई बाटो आसपासको क्षेत्रलाई जनाउने ऐतिहासिक नामलाई आधार बनाउदा राम्रो हुने आम जनमानसको इच्छा रहेको जानकारी गराइएको छ  । यसो गर्न सकिए मात्र बाटोले नाम पाउनुको साथै ऐतिहासिक महत्वको स्थान नामले संरक्षण तथा प्रचार प्रसार हुने मौका पाउने हुँदा  सडकको नामाकरण गर्दा निर्विकल्प तत्–तत् सडक आसपास प्रचलनमा रहेको स्थान नामलाई नै प्रमुख आधारका रूपमा लिई नगर सभा नीतिगत निर्णय गराउन माग गरेको छ।पत्र बुझ्दै उपप्रमुख  सरस्वती खड्काले जनताको सो  भावनालाई नगरसभामा लाने र कार्यन्वयन गर्नको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिइन ।

फोटो :सामाजिक संजाल