प्लाष्टिकका झोला प्रयोगले निम्त्याउँछ क्यान्सर

काठमाडौं। विश्व बजार र आधुनिक जीवनशैलीले प्लाष्टिक झोलाको प्रयोगलाई व्यापक बनाएको छ । यही प्लाष्टिक झोलाको प्रयोगले मानिसमा क्यान्सरजस्तो भयानक रोग लाग्नसक्ने चिकित्सकहरुले बताएका छन् ।

प्लाष्टिकको बढ्दो प्रयोगसँगै प्लाष्टिक अद्भुत अन्वेषण मात्र नरही प्राणीको अस्तित्वमाथि चुनौती बन्दै गएको छ । प्लाष्टिकका कारण मानव स्वास्थ्यसमेत ठूलो असर गरेको डा खेम कार्की बताउँछन् । नेपाल स्वास्थ्य अनुसन्धन परिषदको नेतृत्वको अनुभव संगालिसकेको उनले परिषदको तर्फबाट विभिन्न समयमा गरिएको अध्ययन अनुसन्धानले पनि प्लाष्टिक झोला प्रयोग नियन्त्रण गर्नुपर्न सुझाव प्राप्त भएको जानकारी दिए ।

‘प्लाष्टिक झोलाको जोखिमले जंगली जनावर र जलचरदेखि मानिसको आन्द्रासम्म पुगिरहेको छ, प्लाष्टिक,’ उनले भने, ‘नेपाली जनजीवनमा प्लाष्टिक प्रवेश गरेको धेरै भएको छैन । २०४६ सालपछि मात्रै नेपाली पहाडमा प्लाष्टिकको प्रयोग बढेको देखिन्छ ।’

यस्तै फोहोरमैला प्राविधिक सहयोग केन्द्रले सन् २००४, २००८ र २०१२ मा गरेको अध्ययनमा फोहोरमैलामा प्लाष्टिकको अंश क्रमशः ७, ८ र ११ प्रतिशत पुगेको देखाएको थियो । अहिले त काठमाडौं उपत्यकामा मात्र दैनिक १० लाखभन्दा बढी प्लाष्टिकका झोला प्रयोग हुने अनुमान रहेकाे खबर राजधानीदैनिकमा छ ।