फागुनभित्रै सयौं पुराना गाडी हटाईने, चैत १ गतेदेखि पुराना सवारी चलाउन नपाइने

फागुन ३० गतेभित्र २० वर्ष पुराना सार्वजनिक सवारी साधान नहटाए सरकारले नियन्त्रणमा लिने भएको छ। चैत १ गतेदेखि देशभरी २० वर्ष पुराना सवारी साधन चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार चैत १ गतेदेखि २० वर्ष पुराना गाडी चलाइएकोमा पाइएकामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ।

‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँच वर्षे रणनीतिक कार्ययोजना’अनुसार पुराना गाडी हटाउन लागिएको हो। उपत्यकामा ६ महिना पहिलेदेखि नै २० वर्ष पुराना सार्वजनिक यातायात प्रयोग गर्न निषेध भइसकेको छ। फागुन ३० गतेभित्रै २० वर्ष पुराना सार्वजनिक सवारी साधन पत्रु बनाउनुपर्ने वा बिस्थापन गर्नुपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए।

यो निर्णय लागू भएपछि करिब २ हजार पुराना सवारी साधन बिस्थापन हुने विभागको आँकलन छ।
१५ वर्षपछि दर्ता हेरफेर रोकियो
२० वर्ष सार्वजनिक यातायातलाई निषेध गरिएपछि कतिपयले दर्ता हेरफेर गरी पुराना सार्वजनिक गाडीलाई निजी बनाउने प्रवृत्ती बढेपछि यातायात व्यवस्था विभागले १५ वर्ष पुराना सार्वजनिक यातायातलाई निजीकरण गर्न रोकेको छ।
वायु प्रदुषण नियन्त्रणको उदेश्यले पनि सरकारले पुराना गाडी हटाउन लागेको हो। तर यातायात व्यवसायीहरुले क्षतीपुर्ती दिएर मात्र पुराना गाडी हटाउन माग गर्दै आएका छन्।