बकर इद मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ । हिजरी संवत्अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिए, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो ।

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन् । यसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।