काठमाडौं, १६ भदौ । काठमाडौं भित्र रुख विरुवाको उपस्थिति कम हुँदै जाँदा यसप्रति बिभिन्न संस्था एवं व्यक्तिहरुको ध्यान तानिन थालेको छ । जलवायु परिवर्तनको असरको चर्को मारमा पर्दै गएको नेपालमा वृक्षरोपणप्रति सजगता बढाउनु पर्ने समयमा यस्तो कार्यप्रति चासो बढ्नुलाई सकारात्मक मानिएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुस्थित गुरुजुधारामा स्थापना भएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिको परिसरमा सोमबारसम्ममा ६२ वटा बिभिन्न जातका विरुवाहरु रोपिएका छन् । भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आफ्नो सामाजिक उत्तरदायित्वप्रतिको भूमिकालाई प्रबल बनाउने उद्धेश्य अनुरुप अशोका, आँप र फलफुलको गरेर बिभिन्न जातका ६२ विरुवा रोपेको हो ।
शनिबार संघीय संसदका सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश ३ का सांसदद्वय रमा आलेमगर र बेलीमाया घले एवं काठमाडौं जिल्ला समन्वय समितिमा प्रमुख शिवसुन्दर वैद्यले बिभिन्न जातका विरुवा रोपेर वृक्षरोपण अभियानको आरम्भ गर्नु भएको थियो । यही क्रममा सोमबार प्रदेश सांसद केशव पोखरेल, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बिभिन्न जातका विरुवा रोप्नु भएको थियो ।
‘दुर्घटना मुक्त समाज, स्वच्छ वातावरण , हामी सबैको चाहना’ भन्ने नाराका साथ भेहिकल एकेडेमी एड रिसर्च सेन्टरले यो वृक्षरोपण अभियानको थालनी गरेको एकेडेमीका सञ्चालक देवेन प्रधानले न्यूज २४ लाई जानकारी दिनुभयो ।
सवारी प्रशिक्षण र लाइसेन्स परीक्षाका लागि नेपालकै सबभन्दा व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर २९ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमीमा ठूला, मझौला र दुई पांग्रे सवारी साधनको प्रशिक्षण एवं लाइसेन्स परीक्षा सञ्चालन हुँदै आएको छ ।