भोलिदेखि सुरु हुने एसईई परीक्षा स्थगित, त्रिविका सबै परीक्षा पनि रोकिए

भोलिदेखि सुरु हुने यस बर्षको माध्यमिक शिक्षा परीक्षा एसईई अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वलाई आक्रान्त पारिरहेको वखत नेपालमा पनि त्यस्को असर देखिदा एसईई परीक्षालाई लिएर पनि प्रश्न उठ्दै आएको थियो । तर सरकारले पूर्वसन्ध्यामा मात्र आएर यो निर्णय गर्दा सदरमुकाम लगायत परीक्षा केन्द्रमा भेला भएका हजारौं विद्यार्थी मारमा परेका छन् ।

सरकारले अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाए पछि परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुले ढिलै भए पनि अन्यौलबाट भने मुक्त भएका छन् । यसपटकको एसईईमा देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षामा सामेल हुँदै थिए ।

यसैबीच त्रिभूवन विश्वविद्यालय अन्तर्गतका अन्य सबै संकायका परीक्षाहरु पनि स्थगित गरिएको जनाइएको छ ।