महिला हिंसा विरुद्धमा बलम्बु प्रहरी प्रभाग सक्रिय

चन्द्रागिरी, बलम्बु प्रहरी प्रभागको आयोजनामा शनिबार महिला हिंसा विरुद्धको नाटक ‘नारी आवाज’ र ‘नागरिक सुनुवाई’ कार्यक्रम सम्पन्न भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, राजनैतिक व्यक्तित्व, समाजसेवी, महिला समूह आदिको उल्लेख्य उपस्थिति रहेको थियो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक शर्मिला गुरुङले पहिले स्वयमबाट सुरु गरे मात्र महिला हिंसाको अन्त्य सम्भव हुने बताईन् । प्रहरी निरीक्षक गुरुङले अपराधलाई विभिन्न किसिमको आवरण ओढाइदिने प्रवृतिले कहिलेकाही समस्यामा पार्ने गरेको अनुभव सुनाउँदै आफू स्थान विशेषसँग नभर्इ कामसँग मोह राख्ने हुँदा त्यस्ता असहज परिस्थितलाई सहर्ष स्वागत गर्न आफू सधैं तयार रहेको जिकिर गरिन् ।

यस्तै प्रमुख प्र. व. उ. पोखरेलले समाजमा हुने विभिन्न खाले अपराधमा संलग्न अपराधिलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने बताए । कार्यक्रममा उपस्थित नागरिक समुदायले बलम्बु प्रहरी प्रभागले गरेका काम कारवाहीहरुको खुलेर प्रशंसा गर्नुका साथै शान्ति सुरक्षा सम्बन्धमा जिज्ञासा तथा सुझाव समेत राखेका थिए । कार्यक्रममा नारी माथि हुने विविध किसिमका हिंसालाई नारी आवाज नाटक मार्फत प्रस्तुत गरिएको थियो ।