राजधानीमा स्वाइन फ्लु, चिकित्सक भन्छन् ‘पार्टीमा गएको बेलामा पनि हात नमिलाउनुस् बरू नमस्कार गर्नुस्’

चन्द्रागिरि । काठमाडौंमा स्वाइनफ्लू भेटिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा स्वास्थ्य परिक्षण गर्न आएका एक जना बिरामीलाई स्वाइनफ्लू भेटिएको हो। अन्य अस्पतालबाट पनि रिफर भएर आएका झन्डै आधा दर्जन बिरामीमा स्वाइनफ्लू भेटिएको छ।

स्वाइनफ्लू भेटिएका बिरामीको अवस्था सामान्य रहेको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका सरूवा रोग अनुसन्धान विज्ञ डाक्टर शेरबहादुर पुनले बताए।

‘यो मौसम पनि स्वाइनफ्लु सक्रिय हुने समय हो। नेपालको तथ्यांक हेर्दा यही समयमा स्वाइनफ्लू सक्रिय भएको देखिन्छ,’ पुनले भने, ‘ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने र सुख्खा खोकी लाग्ने भएमा स्वास्थ्य परीक्षण गर्नुपर्छ। यसको औषधि पनि निःशुल्क पाइन्छ।’
स्वाइनफ्लू भेटिए पनि डराउन पर्ने अवस्था भने नरहेको उनले बताएको सेतोपाटीमा खबर छ ।

किड्नी प्रत्यारोपण गरेका, दम लगायतका दीर्घरोगीले भने यो समयमा अलि धेरै सतर्कता अपनाउन पर्ने उनले बताए।
खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने भएमा अस्पताल जानु पर्ने चिकित्सकको सुझाव छ।

‘सहरमा स्वाइनफ्लू भेटिएमा मास्क लगाएर हिँड्न र बाहिर गएर घर आएपछि साबुन पानीले हात खुट्टा धुनुपर्छ,’ उनले भने, ‘पार्टीमा गएको बेलामा पनि हात मिलाउने गर्नु हुँदैन। एक अर्कालाई नमस्कार गर्नुपर्छ।’

घर परिवारमा कोही सदस्यलाई स्वाइनफ्लू भएको छ भने उसले प्रयोग गरेका सामाग्रीहरू अरुले प्रयोग गर्नु हुँदैन।

स्वाइनफ्लूका बिरामीले धेरै झोलिलो खाना खानु पर्ने र हरियो सागपात बढी खाएमा यसको असर पनि कम हुने उनले बताए।