राष्ट्रियसभाका लागि हाम्रा उम्मेदवार बादल हुन, ढुक्कले सूर्यमा भोट हालिन्छः सांसद रमा आले मगर

श्रीहरि थापा,

४ जेठ, काठमाडौँ । नेकपा (एमाले)की नेतृ एवं बागमती प्रदेशसभा सदस्य रमा आलेले राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादल नै आफूहरूको अधाकारिक उम्मेदवार रहेको जानकारी दिनुभएको छ । उहाँले एमालेको आधिकारिक उम्मेदवार नै आफूहरूको पनि उम्मेदवार रहेको स्पष्ट पार्नुभयो ।

दैनिकीसँग कुरा गर्दै उहाँले भन्नुभयो ‘हामी पार्टी एकताका लागि काम गर्नुपर्छ । केन्द्रमा अध्यक्ष र वरिष्ठ नेताकाबीचमा सहमतिको वातावरण बनेर पार्टी एउटा बाटोमा अघि बढिरहेको अवस्थामा फेरि द्धन्द्ध बढाउने भन्दा पनि पार्टी एकतालाइ मजबुद बनाउने दिशमा सबैले कदम चाल्नुपर्छ । त्यसकारण हामीले यही जेठ ६ गतेको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई मत दिनुको विकल्प छैन् । हामीले उहाँको विरूद्धमा मत दियौँ भनेत हामीले पार्टी फुटाउनका लागि जग हालेको ठहर हुन्छ ।’

एमालेभित्र माधव नेपाल समूहको भनेर चिनुनुभएको आलेलाई हामीले नेपाली कांग्रेस र माओवादीसँग मिलेर खिमलाल देवकोटा तपाइहरूकै तर्फबाट उम्मेदवार बन्नुभएको हैन र ? भन्ने प्रश्न गर्दा उहाँले एमालेको आधिकारिक उम्मेदवार बादल भएका कारण बाँकी कुरामा प्रवेश गर्नु जायज नहुने भन्दै ढुक्कले सूर्य चिन्हमा मत दिने बताउनुभयो । सांसद आलेले पार्टीभित्र गुट र अन्तरद्धन्द्धका नाममा जे भैरहेको छ त्यसले आफूलाई विक्षिप्त र दुःखित तुल्याएको भन्दै एमाले विभाजन गर्ने र भाग्ने छुट कसैलाई नरहेको पनि बताउनुभयो ।