विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई ५ वर्ष जेल र ५० हजार जरिवाना

नेपाली कानुनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ । आगामी भदौ १ गतेबाट लागु हुने मुलुकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

बहुविवाह गर्ने पुरुषलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ । विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ ।

विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने ऐनमा व्यवस्था गरिएको छ । विवाहित पुरुष भनेर थाहा हुँदा हुँदै उक्त पुरुषसँग विवाह गर्ने महिलालाई पनि १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

बाल विवाह गर्नलार्इ तीन वर्षसम्म कैद

विवाह गर्ने व्यक्तिको उमेर२० वर्ष नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुनेछ । उपदफा (१) बमोजिमको २० वर्ष नपुगी विवाह गर्ने, गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दाइजो मागे ३ वर्ष जेल

दाइजो माग्ने र दाइजोका कारण महिला हिंसा गर्नेलाई कडा कारबाही हुने भएको छ । ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखी विवाह गर्न नहुने व्यवस्था गरिएको छ ।

यदि यसरी दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने ऐनमा उल्लेख गरिएको छ ।

विवाह गरिसकेपछि पनि दाइजो निहुँमा दुःख दिनेलाई झन् कडा कारबाहीको व्यवस्था ऐनमा गरिएको छ । विवाह गरिसकेपछि दाइजो वा सम्पत्ति मागेमा वा त्यसको निहुँमा दुलही वा उसको नातेदारलाई हैरानी दिएमा, सताएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म कारबाहीको व्यवस्था गरिएको छ ।