विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरी डाँडोमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ । शुक्रबार नेपाल ल्याइएको ट्रफी आईतबार बिहान चन्द्रागिरीमा सार्वजनिक गरिएको हो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले ट्रफी सार्वजनिक गरेका हुन् । चन्द्रागिरीमा ट्रफीलाई त्यहाँ केहीबेर राखेर आजै प्रधानमन्त्री र सर्वसाधारणलाई समेत देखाइने छ ।

ट्रफीलाई भोलि बसन्तुपरमा राखिनेछ । शनिबार ट्रफीलाई पोखरामा प्रदर्शन गरिएको थियो । शुक्रबार नेपाल ल्याइएको ट्रफीलाई ४ दिन नेपालमा राखेर सोमबार भारत लगिने आइसीसीले जनाएको छ । एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट शुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो ।

ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।