व्यापारीले पुन: बढाए छडको मुल्य

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा बढी खपत हुने मौका छोपेर व्यापारीहरुले फलाम र स्टिलजन्य निर्माण सामग्रीको भाउ फेरि बढाएका छन् । पछिल्लो समय व्यापारीले मूल्य किलोमै ३५ रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् ।

अहिले भूकम्प पीडितहरुको घर निर्माण तीव्र बनाएका छन् । त्यही मौका छोपेर निर्माण सामग्रीको मूल्य अस्वभाविक बढ्दा उपभोक्ता मारमा परेका छन् ।

निर्माण कार्यका लागि बढी प्रयोग हुने डण्डी, प्लाई, ग्रिल, रेलिङ लगायतका वस्तुको मूल्य अत्याधिक वृद्धि भएको ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले बताएको छ । ‘गत मंसिरमा प्रतिकिलो ७० रुपैयाँ रहेको डण्डीको मूल्य चैतसम्म आइपुग्दा ८२ रुपैयाँ पुगेको छ,’ महासंघका अध्यक्ष मोहन कटुवाल भन्छन्, ‘चैतमामात्रै डण्डीको मूल्य ११ रुपैयाँले बढी ९३ रुपैयाँ पुगेको छ ।’

महासंघले मूल्य वृद्धि फिर्ता लिन माग पनि गरेको छ । विभिन्न बहानामा ग्रील जन्य फलाम तथा निर्माण सामग्रीहरूको चरम मूल्यवृद्धि हुँदा भूकम्प प्रभावितहरूले राज्यबाट पाएको रकमले घर बनाउन नसक्ने अवस्था सृजना भएको महासंघले बताएको छ ।

मूल्यवृद्धिको असर निर्माणाधीन आयोजनाहरूमा पर्छ । निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा आयोजनाको लागत बढेर विकास निर्माणमासमेत असर परेको ठहर महासंघको छ ।

मूल्यवृद्धिसँगै पछिल्लो समय कृतिम अभाव समेत श्रृृजना गरिएको आरोप महासंघको छ । व्यापारीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भएकाले उत्पादिन निर्माण सामग्रीको मूल्य बढाउनु परेको तर्क गरेका छन् ।

महासंघले भने मूल्यवृद्धि तत्काल फिर्ता नलिइए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनले व्यापारीले १५ दिनमा पाँच पटकसम्म निर्माण सामग्रीको मूल्यवृद्धि गरिएको भेटिएको थियो । अनुगमनपछि केही उद्योगले मूल्यवृद्धिको तुलनामा निकै कम मूल्य घटाएका थिए । तर, फेरि मूल्यवृद्धि गराउन थालेका छन् ।

साभार: न्युज २४ टेलिभिजन