३ दलबीच ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्न ६ बुँदे सहमति

चन्द्रागिरि  ।

नेकपा एमाले, माअाेवादी केन्द्र र नयाँ शक्तिले चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने छबुँदे सहमति घोषणा गरेका छन्।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन्। राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले सहमतिपत्र पढेर सुनाएका थिए।

छबुँदे सहमतिअनुसार यी तीनै कम्युनिस्ट पार्टीले मंसिरमा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा आपसी तालमेल गर्ने छन् भने निर्वाचन सकिएपछि विधिवत पार्टी एकता हुनेछ।

आसन्न दुवै निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका ६० र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी तालमेल गरिने सहमतिमा उल्लेख छ। बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ।

निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने पनि जनाइएको छ। यसका लागि तीनै पार्टीका प्रतिनिधि सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरिनेछ। प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने सहमतिपत्रमा उल्लेख छ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ। समितिमा एमाले तर्फबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक जना नेता रहने छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उक्त समितिमा प्रमुख नेताको भूमिका रहने छन्। पार्टी एकता संयोजन समितिका निर्णय सहमतिका आधारमा गरिनेछ। पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्नेछ।

एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गरिने सहमतिपत्रमा उल्लेख छ। प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि यी तीनै कम्युनिस्ट पार्टीको विधिवत एकता सम्पन्न हुनेछ।

सहमतिपत्रअनुसार पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आ-आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न छुट भए पनि एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना गर्न निषेध गरिएको छ।

वाम गठवन्धन तथा पार्टी एकता घोषणा सभामा एमाले अध्यक्ष ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैकविरूद्ध नभएको बताएका छन्। पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘हाम्रो चुनावी तालमेल कसैका विरुद्धमा छैन। नेपाल र नेपालीको पक्षमा छ। यसै दिशामा अगाडि बढ्नेछौं।’

एमाले, माओेवादी केन्द्र र नयाँ शक्तिबीचको पार्टी एकता नेपालको आवश्यकता र जनताको आकांक्षा भएको उनले बताए। नेपालको सामाजिक, आर्थिक, राजनीतिक सुधारका साथै निर्वाचन उपयुक्त होस् भन्ने हेतुले पार्टी एकता गरेको उनले उल्लेख गरे।

यो गठवन्धनले राष्ट्रिय समृद्धिका लागि काम गर्ने भन्दै अध्यक्ष ओलीले भने, ‘कोही डराउनु पर्दैन। सानो स्वार्थ ठूलो कुरा होइन, देश ठूलो हो। बराबरप्को आधारमा सम्बन्ध बनाउने हाम्रो चाहना हो।’ आफूहरुले नयाँ अध्याय सुरु गरेको बताउँदै एकीकरण संयोजन समिति गठन गरेको उनले बताए। उनले सबै पार्टीका नेतालाई यो अभियानमा उत्साह र खुसीका साथ लाग्न आग्रह पनि गरे।

माअाेवादी केन्द्रका अध्यक्ष दाहालले राजनीतिक स्थिरताका लागि वामपन्थी पार्टीहरुबीच गठवन्धन भएको बताएका छन्। एमाले र माअाेवादीबीच चुनावी तालमेल तथा पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीको सहमति जनताको पक्षमा रहेकाले कोही भ्रमित हुन नपर्ने बताए। पार्टी एकताको प्रयास र चुनावी तालमेल कसैका विरुद्ध नभएको उनले उल्लेख गरे।

चुनावी तालमेल र पार्टी एकताको प्रयास समाजवादको नयाँ मोडल तयार पार्ने उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ थियो। दुई दलबीचको सहमति कांग्रेसविरुद्ध नभएको पनि उनले प्रस्ट पारे।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीद्वारा मंगलबार सभागृहमा जारी सहमतिपत्रको दस्तावेज:

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ। नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ।

फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं।

मजदुर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित समुदाय र पीछडिएका क्षेत्रको जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यवहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौं।

नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन्। हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन्। तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं। हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार गर्ने निष्कर्षमा पुगेका छौं।

१) नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी नेपालका बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने। उक्त समितिमा नेकपा एमालेको तर्फबाट चार जना, माओवादी केन्द्रका तर्फबाट तीन जना, नयाँ शक्ति पार्टीका तर्फबाट एक जना नेता रहने। नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिका रहने। पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने। पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने। सहमति हुन बाँकी विषयहरूमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ। वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ।

२) एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने। प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने।

३) पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने। तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यस महान उद्देश्यअनुरुप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने। छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने।

४) आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने।

५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने। यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने। प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने।

६) आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालेमलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने।