भारत सरकारबाट चन्दन भराटेश्वर महादेव मन्दिर स्तरोन्नतिको लागि ५ करोड सहयोग

269

“चन्दन भराटेश्वर महादेव मन्दिर परिसरको गुरुयोजना सहित स्तरोन्नति हुँदै, भारत सरकारबाट पहिलो चरणमा करिब पाँच करोड रुपैया सहयोग हुने; चन्द्रागिरि नगरपालिकाको धार्मिक पर्यटन क्षेत्रमा ठुलो टेवा पुग्ने”

चन्द्रागिरि नगरपालिका वडा नं ६ मा रहेको ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा विभिन्न संरचना निर्माण कार्य गर्न तथा पूर्वाधार विकास गर्न आज मिति २०८० माघ १८ गते चन्द्रागिरि नगरपालिका, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावास बीचमा त्रिपक्षीय सम्झौता भएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरीज्यु, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव श्री महेन्द्र सापकोटाज्यु , भारतीय राजदूतावास काठमाडौँका काउन्सिलर डेभलमेन्ट पार्टनरशीप श्री करुण बंशलज्युले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित एक कार्यक्रम बीचमा सम्झौता (मेमोराण्डम अफ अण्डरस्टाइडिङ) मा हस्ताक्षर गर्नुभएको छ ।
चन्दन भराटेश्वर मन्दिर परिसरमा छात्रावास ब्लक, क्लब ब्लक, पठनपाठन ब्लक र सभाहल, भान्साघर ब्लक, सार्वजनिक शौचालय, छेकवार पर्खाल लगायतका संरचना निर्माण गरिने सम्झौता पत्रमा उल्लेख छ। यी कार्य सम्पन्न गर्न चन्द्रागिरि नगरपालिकाबाट तयार भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेखित कूल अनुमानित लागत रु ४,३६,९०,३९७ (रु चार करोड छत्तीस लाख नब्बेहजार तीनसय सन्तानब्बे) भारत सरकारले स्वीकृत गरी परियोजना कार्यान्वयनका लागि सम्झौता भएको जनाइएको छ ।
हस्ताक्षर समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज अर्यालज्यु, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु सहितको सहभागीता रहेको थियो ।