सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं- सुनको मूल्यले डेढ महिना अघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । यद्यपि अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य वृद्धिदर उच्च देखिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेटमार्फत सुनको भन्सार दर बढाएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो । बुधबार १ हजार ४ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी बिहीबार १ हजार ४ सय ९५ रुपैयाँमा कारोवार भएको महासघले जनाएको छ ।