निषेधाज्ञा खुुकुलो भएसँगै सङ्क्रमण बढ्यो प्रजिअहरु समीक्षा गर्दै

काठमाडौँ, असार २७ गते । उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि यसको नियन्त्रण तथा व्यवस्थापनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा जुटेका छन् ।
यही महिनाको २२ गतेदेखि ३१ गते असार मसान्तसम्मका लागि थप गरिएको निषेधाज्ञा खुकुलो पार्नुअघि करिब उपत्यकामा दुईसय ५० जनासम्म झरेको सङ्क्रमित दर शनिवारसम्म आइपुग्दा चारसय पुगेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली कोरोना सङ्क्रमण बढेको स्वीकार्नुहुन्छ ।
सो सम्वन्धमा सम्वन्धित जिल्ला कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (डि–सिसिएमसी) बीच छलफल भइरहेको छ । पछिल्लो पटक खुकुलो पारिएको निषेधाज्ञामा २५ जनासम्म भेला हुन दिने निर्णयसँगै विवाह ब्रतबन्धका नाममा पार्टी प्यालेस र होटलमा भोज खुवाउने लहर बढेको छ ।
डि–सिसिएमसी प्रमुख एवं प्रमुख जिल्ला अधिकारी पराजुली निषेधाज्ञा पालना भए नभएको सम्वन्धमा नियमित अनुगमन भइरहेको बताउनुहुन्छ । तर, सयौँजना जम्मा पारी भोजभतेर खुवाउनेदेखि किनमेलका लागि बजारक्षेत्र होस वा सार्वजनिक यातायातमा अत्यासलाग्दो भीडभाड देखिन्छ ।

जारी निषेधाज्ञामा बाक्लो भीडभाड लाग्ने स्थानहरु उद्यान, पार्क, चिडियाखाना, होटल तथा पार्टी प्यालेसमा भेला तथा भोज, शैलुन पसल, ब्यूटिपार्लर, ब्यायामशाला, पौडी पोखरी र चलचित्र हल लगायतका क्षेत्रहरु सचालनमा निषेध गरेको छ ।
त्यसका अतिरिक्त ब्यापारिक केन्द्र, बजारक्षेत्र, सपिङमल, खाद्य तथा किराना र कपडा पसलहरु साँझ ६ बजेसम्मका लागि मात्र खोल्ने अनुमति दिएको छ । राष्ट्रिय ब्यापार संघ न्यूरोडका महासचिव बैकुण्ठ दाहाल साँझ कोरोना सर्छ भन्ने भ्रममा सत्यता नभएको बताउनुहुन्छ ।

‘साँझ ६÷७ बजेपछि त खाद्य तथा किराना बहेक सम्पूर्ण बजार आफै बन्द हुन्छ, उहाँ भन्नुहुन्छ– कोरोना सर्ने मुख्य जोखिम क्षेत्रको पहिचान गरी सोही अनुसारको व्यवस्थापन हुनुपर्छ । बजार खुलेर र सवारी साधन सञ्चालन नै कोरोना सङ्क्रमणको मुख्य कारण हुन सक्दैन्न ।

ललितपुर र भक्तपुरमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या अहिले पनि दैनिक एकसयम भन्दा माथि उक्लेको छैन । सरदर ४० देखि ८० जनासम्मको हाराहारिमा छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सङ्क्रमणबाट जोगिन नागरिकहरु स्वयम् सतर्क र सचेत हुनुपर्ने बताउनुहुन्छ ।

ललितपुर र भक्तपुरको तुलनामा काठमाडौँमा सङ्क्रमणदर बढी छ । त्यसमा पनि तीन वटै जिल्ला एकअर्कोको परिपूरक भएकाले बढ्दो गतिमा रहेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि नियमित छलफल जारी रहेको उहाँ बताउनुहुन्छ ।

निषेधाज्ञा कार्यान्वयन तथा भौतिक दूरी, सामाजिक सुरक्षा मापदण्डको पूर्ण पालना र भीडभाड नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रहरीसँगको सहकार्यमा अनुमगन र माइकिङ सचेतना कार्यलाई अभियानकै रुपमा सञ्चालन गरेको छ ।

कोरोना सङ्क्रमणको दर हालकै अवस्थामा बढ्दै जाँदा जारी निषेधाज्ञा असार मसान्तपछि थप गर्दै लैजाने वा अन्त्य गर्ने विषयमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच छलफल भइरहेको जनाइएको छ । तर पनि संङ्क्रमण घटाउने सम्वन्धमा स्पष्ट रणनीति बन्न सकेको छैन । रासस