असारसम्म सुन्दरीजलबाट पशुपतिसम्मको बाग्मती ढलमुक्त गरिने

काठमाडौँ,  चैत  १९ गते । आगामी असार मसान्तसम्म सुन्दरीजलबाट पशुपतिसम्मको वाग्मती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ ।

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘वाग्मती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्धनात्मक कार्यक्रमको महत्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा बाग्मतीको मुहानस्थल सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन सरोकार भएका निकायको प्रतिनिधि सदस्य रहेको पाँच सदस्यीय समिति गठन गरिएको जानकारी गराइएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पाँच जनाले नभ्याए जनशक्ति थप्न सकिने उल्लेख गर्नुहुँदै पशुपति क्षेत्रसम्मको नदीलाई ढलमुक्त गर्न आवश्यक बजेटको व्यवस्था हुने बताउनुभयो । वाग्मतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर वाग्मती कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको जानकारी पनि उहाँले दिनुभयो ।

शिरदेखि बाग्मती सफाइ गर्ने अभियानमा सफाइ महाअभियानको ठूलो योगदान हुनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले सबैको सहयोग जुटाएर यो काम सफल गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा. माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा. सुधा श्रेष्ठ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।