सयपत्री फूलका मालाको आयातमा रोक

सयपत्री मालाको आयातमा प्रतिबन्ध लगाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सयपत्री फूलका मालाको आयातमा रोक लगाएको हो । केन्द्रले माला आयातका लागि अनुमति दिन बन्द गरेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको प्रस्तावमा आयातमा रोक लगाइएको बताइएको छ । व्यवसायीले आवश्यकताभन्दा धेरै माला आयात गर्न थालेपछि आयातमा रोक लगाइएको हो । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले व्यवसायीले अस्वाभाविक रूपमा आयात गर्न थालेपछि बजारमा स्वदेशी मालाले मूूल्य नपाउने हुँदा आयातमा रोक लगाउन प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

“तिहारलाई अपुग हुने माला एक हप्ताअघि नै आयात भइसकेको छ । थप आयात नहोस् भनेर आयातमा रोक लगाइएको हो,” उहाँले भन्नुभयो । फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारका बेला बढी खपत हुने हुँदा सयपत्रीको तीन लाख माला अपुग हुने उहाँले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ । स्वदेशी उत्पादनले तिहारमा ९० प्रतिशत बजार माग धान्ने र १० प्रतिशत आयात गर्नुपरेको उहाँले जानकारी दिनुभयो ।

एसोसिएसनका अनुसार यसपालि तिहारमा २४ लाख ४५ हजार माला खपत हुने अनुमान गरिएको छ । जसमा २० लाख सयपत्री, चार लाख २५ हजार मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ ।