वीर अस्पताल आइतबार नखुल्ने

bir hospital


jibss

काठमाडौँ, जेठ ८ गते । सरकारले शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भए पनि उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार सञ्चालनमा आउने भएका छन् । लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् ।

उपत्यकाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई ध्यानमा राखी आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यसअघि जेठ १ गते आइतबारका दिनसमेत ती अस्पताल खुलेका थिए । वीर अस्पतालले भने सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गर्दै आइतबार बन्द गर्ने निर्णय गरेको छ । सरकारले यही जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । सरकारले सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपराह्न ५ः३० बजेसम्म तोकेको छ । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णयानुसार नै अस्पताल आइतबार बिदा हुने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका ठूला अस्पतालले बिरामीको उपचारलाई ध्यानमा राखी आइतबार अस्पताल सञ्चालन गर्ने निर्णय गरेका हुन् । 

“सरकारको निर्णयानुसार नै हामी अस्पताल सञ्चालन गर्छाैं,” उहाँले भन्नुभयो, “तर अस्पतालको आकस्मिक सेवा २४सै घण्टा नै सञ्चालन भइरहेको छ । बहिरङ्ग विभागमा त्यति गम्भीर बिरामी नआउने भएकाले आइतबार बन्द गर्ने निर्णय गरेका हौँ ।” उहाँले कार्यालय समय बढेकाले बिरामीको उपचार गर्न सकिने तर्क गर्नुभयो ।

यस्तै गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई ध्यानमा राखी आइतबार पनि अस्पताल खुल्ने बताउनुभयो । उहाँका अनुसार केन्द्र स्वायत्त स्वास्थ्य संस्था भएकाले सरकारको निर्णय माने पनि बिरामीको उपचारलाई ख्याल गर्दै आइतबार पनि खुल्नेछ । उक्त केन्द्रमा दैनिक छ सय बिरामी उपचारका लागि आउने गर्छन् । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनीषा थापाले सार्वजनिक बिदाका दिन आइतबार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताउनुभयो ।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पनि पूर्ववत् अवस्थामा नै अस्पताल सञ्चालन भइरहने जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पतालमा दैनिक करिब दुई हजार पाँच सय बिरामी उपचारका लागि आउने गर्छन् ।

निजामती कर्मचारी अस्पतालका प्रशासकीय प्रमुख कृष्ण सापकोटाले जेठ ८ गते आइतबार खुल्ने तर त्यसपछिका आइतबार खुल्ने वा नखुल्नेबारे निजामती कर्मचारी अस्पताल विकास समितिले निर्णय गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक एक हजार मानिस नियमित उपचारका लागि आउने गर्छन् ।

पाटन मानसिक अस्पतालका निर्देशक डा. अनन्तराज अधिकारीले आइतबार पनि अस्पताल खोलिरहेको जानकारी दिनुभयो । उहाँले बिरामीलाई सेवा दिन भनिएका अस्पताल बन्द हुँदा समस्या हुने भएकाले आइतबार खोल्ने बताउनुभयो । “अत्यावश्यक सेवामूलक संस्था आइतबार पनि खोल्दा नागरिकलाई निकै सहज हुन्छ । आइतबार अस्पताल आएका बिरामी फर्कनु राम्रो होइन,” उहाँले भन्नुभयो । उहाँका अनुसार अस्पतालमा दैनिक १५० बिरामी आउने गर्दछन् ।