न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाको सहयोग



jibss

काठमाण्डौ। न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामाग्री, मेडिकल सामाग्री, फ्रिजलागयत सामाग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका उपाध्यक्ष कुमार राईले जनाएका छन् ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र उपाध्यक्ष राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर गिरीले उत्कृष्ट महिला भलिबल खेलाडी उत्पादनमा न्यु डायमन्डको योगदान प्रशंसनीय रहेको बताउदै खेलकुदमा समर्पित एक सफल क्लबलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

उपमेयर नकर्मीले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्लब पदाधिकारीको मेहनत र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमन्डका खेलाडीले गरेको प्रदर्शनको उच्च प्रशंसा गरिन् ।

क्लबकी अध्यक्ष मालीले सबैको साथ र सहयोगले नै न्यु डायमन्ड अगाडि बढेको बताउदै सहयोगका लागि धन्यवाद दिइन् । उपाध्यक्ष राईले प्राप्त सामाग्रीले खेलाडीको प्रशिक्षणमा ठूलो सहयोग पुग्ने बताउदै खेलाडीको स्तरवृद्धिमा पनि सहयोग हुने बताए ।